|  

कारबाहीको चेतावनीले पछि नहट्ने शशांकको अडान, भने-आफ्नै बाटो लाग्छौँ

०९ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसभित्रको विवाद थप चर्किने संकेत देखिएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता शशांक कोइरालाले सभापति गगन थापाले कारबाही गरे आफूहरू आफ्नै बाटो लाग्ने बताएका छन्। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवा पक्षको १५ औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्। थापा पक्षले देउवा पक्षमा सक्रिय जनप्रतिनिधिलाई राजीनामा दिन वा कारबाही भोग्न तयार रहन चेतावनी दिएको थियो।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यसैबीच निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरिसकेको छ।