|  

ससुराबाट बलात्कृत १४ वर्षीया श्रीमती कुटपिट गरी भिडिओ सामाजिक सञ्जालमा राख्ने श्रीमान् पक्राउ

१० मंसिर, काठमाडौं ।  मोरङको कानेपोखरी गाउँपालिका–६ मा १४ वर्षीया सुत्केरी नाबालिकामाथि ससुराबाट भएको बलात्कारको घटना यतिखेर सामाजिक सञ्जालमा भाइरल छ ।

बलात्कार पश्चात् उल्टै श्रीमान्‌ले बेल्टले हानेर कुटपिट गरी भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो घटना भाइरल बनेको हो । घटनामा प्रहरीले आरोपी श्रीमान्‌लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले मिति बुधबार २३ वर्षीय श्रीमान्‌लाई नियन्त्रणमा लिएको हो ।

निजमाथि विद्युतीय अपराध (साइबर अपराध) र बालविवाह सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार मोरङ स्थित घरमा मिति २०८३ कात्तिक २९ गते रातिको समयमा ५५ वर्षीय ससुराले १४ वर्षीया नाबालिका बुहारीलाई जबरजस्ती करणी गरेका थिए ।

उक्त घटनाको सूचना प्राप्त हुनासाथ प्रहरीले बलात्कार कसुरमा संलग्न ५५ वर्षीय ससुरालाई तत्काल पक्राउ गरी मङ्सिर ०१ गते अदालतबाट म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान अघि बढाएको थियो।

पीडित नाबालिका सुत्केरी समेत भएकी छिन् । भिडिओमा श्रीमान्‌ले काखमा रहेको शिशु आफ्नो नभएको आरोप लगाउँदै बेल्ट लगायतका वस्तुले निर्मम शारीरिक तथा मानसिक यातना दिइरहेको देखिन्छ ।