|  

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- इनमलाई गगनविरूद्ध बयान दिन दबाब दिइएको हो?

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका आरोपबारे प्रधानमन्त्रीसँग जबाफ मागेका छन् ।

उनले कांग्रेस सभापति गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, नत्र फसाइदिने भन्दै धम्की दिइएको भन्ने सापकोटाकी पत्नीको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

शर्माले शनिबार सामाजिक सञ्जालमा लेख्दै राष्ट्रिय मानवअधिकार आयोगमा परेको उजुरी झुटो हो कि राज्यकै आडमा अपराधका योजना बनिरहेका छन् भन्ने प्रश्न उठाएका छन् ।

कांग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरू विरुद्ध बयान दिए छोडिदिने, नत्र फँसाइ दिने ! इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीज्यू ? मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दैछन्?’ शर्माले लेखेका छन् ।