|  

भारतको सहयोगमा मुस्ताङमा नवनिर्मित छात्रावास भवनको उद्घाटन

१२ मंसिर, काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित दिव्य दीप माध्यमिक विद्यालयमा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ।

शुक्रबार काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् ।

भारतीय राजदूतावासको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त छात्रावास गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाले नेपालको शिक्षा तथा विकास क्षेत्रमा भारत सरकारले गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए । भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशमा ६०५ वटा आयोजना अघि बढाइएका छन् ।

c1-1795835748.jpg

तीमध्ये गण्डकी प्रदेशमा ६४ र मुस्ताङमा १८ वटा परियोजना सञ्चालनमा छन् । भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ, जसमा मुस्ताङ जिल्लाका ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस समावेश छन् ।