|  

काँग्रेस वैधानिकताको प्रश्न समाप्त भइसक्यो, अब प्रदेश अधिवेशनको तयारीमा जुट्छौँः महामन्त्री संग्रौला

१२ मंसिर, काठमाडाैं । नेपाली काँग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरेका छन् ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । काँग्रेसको आधिकारिकता आफूहरुले पाएको दाबी गर्दै उनले अब प्रदेश अधिवेशनमा जुट्ने बताए । उनले पार्टीको प्रदेश अधिवेशन गर्ने मिति तत्कालै घोषणा गर्ने जानकारी दिए । प्रदेश अधिवेशनका लागि पार्टीको निर्वाचन समितिलाई पत्राचार गरिसकिएको उनको भनाई छ । उनले भने,‘जसरी सर्वोच्चमा संसदको पुनस्र्थापनाको मुद्दा छ नि नयाँ संसद त आइसक्यो । त्यसैगरी महाधिवेशन गरेर निर्वाचन आयोगले अद्यावधिक गरिसकेको परिप्रेक्ष्यमा जुन मुद्दा अदालतमा छ, संसद पुनस्र्थापना हुन्छ भने यो मुद्दा पनि चल्ने हो, होइन भने यो कुरा यहीँ सिद्दियो । वैधानिकताको प्रश्न समाप्त भइसक्यो । छिट्टै हामीले प्रदेश अधिवेशन गर्छौँ । आज मात्रै निर्वाचन आयोग सभापतिसहित हामी एउटा छलफल गरेर प्रदेश अधिवेशनको घोषणा भोलि हुँदैछ र छिट्टै नै हामी यो गरिसक्छौँ । यो प्रक्रिया पूरा भइसक्यो । यो विवादको विषय र छलफलको विषय होइन ।’

उनले प्रदेश अधिवेशनको मिति निर्वाचन समितिले आईतवार घोषणा गर्ने पनि जानकारी दिए । –न्युज एजेन्सी नेपाल