|  

हिजाब नलगाई गीत गाएको भन्दै इरानी गायिकालाई ७४ कोर्रा

१३ मंसिर, काठमाडौं । इरानमा चर्चित गायिका परस्तु अहमदीलाई हिजाब नलगाई सार्वजनिक रूपमा गीत गाएको अभियोगमा ७४ कोर्रा हानिएको छ ।

उनीसँगै उनका सांगीतिक टोलीका चार सदस्यलाई पनि समान सजाय दिइएको छ । २९ वर्षीया अहमदीलाई गत नोभेम्बर २३ मा इरानको धार्मिक सहर कोममा कोर्रा हानिएको हो ।

अहमदीले सन् २०२४ डिसेम्बर ११ मा कोम प्रान्तस्थित ऐतिहासिक देइर–ए–गचिन कारभान्सराईमा दर्शकबिनै सांगीतिक कार्यक्रम आयोजना गरेकी थिइन् ।

कार्यक्रममा उनले हिजाब नलगाई र काँध देखिने पहिरनमा एक्लै गीत गाएकी थिइन् । उनको साथमा पुरुष संगीतकर्मीहरू थिए। कार्यक्रम युट्युबबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

इरानमा महिलाले सार्वजनिक स्थानमा अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने व्यवस्था छ। त्यस्तै महिलाले सार्वजनिक रूपमा एकल गायन गर्नेमाथि पनि कडा प्रतिबन्ध छ।