|  

जनकपुरधाम-अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

१३ मंसिर, काठमाडौं ।  धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा हिजोदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ४०० जनाले टिकट लिएका थिए ।

जनकपुरधामबाट अयोध्यासम्मको यात्राका लागि स्लीपर श्रेणीको रु ५८४, वातानुकूलित तेस्रो श्रेणी इकोनोमीको रु एक हजार ४१६, वातानुकूलित तेस्रो श्रेणीको रु एक हजार ५४४ र वातानुकूलित दोस्रो श्रेणीको रु दुई हजार १७६ भाडा निर्धारण गरिएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार रेल प्रत्येक सोमबार बिहान ५ः३० बजे अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ भने शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि छुट्नेछ।