|  

प्रहरी निरीक्षक हुँ भन्दै २ लाख रुपैयाँ बार्गेनिङ गर्ने ५ जना पक्राउ

१३ मंसिर, काठमाडौं ।  आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै २ लाख रुपैयाँ माग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौँको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई कपन बस्ने २९ वर्षीय इन्द्र बहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६ घर भई हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेल बहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय हर्क सिंह भोलन रहेका छन् ।

प्रहरीका अनुसार मंसिर १० गते प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिका भाइ दाइलाई भेट्न जाँदा आरोपितहरूले आफू प्रहरी निरीक्षक भएको बताउँदै मुद्दा नचलाई छुटाइदिने प्रलोभनमा दुई लाख रुपैयाँ माग गरेका थिए। उनीहरूले होटल खर्चसमेत तिर्न लगाएको खुलेको छ।

पीडितले रकम दिन अस्वीकार गरेपछि आरोपितहरूले फोन तथा म्यासेन्जरमार्फत धम्की दिँदै मानसिक र आर्थिक तनाव दिएको प्रहरीले जनाएको छ।

सूचनाका आधारमा प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट पाँचै जनालाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।