|  

प्रेस स्वतन्त्रताको माग गर्दै रास्वपा कार्यालयमा पत्रकारको धर्ना

१३ मंसिर,काठमाडाैं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको माग गर्दै देशभरका पत्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यालयमा एक घण्टा धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत आइतबार बिहान ११ बजेदेखि देशभरका पार्टी कार्यालयमा धर्ना दिइएको हो। ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित गरिएको प्रदर्शनमा समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको तथा पत्रकारका श्रम अधिकार कुण्ठित गरिएको भन्दै महासंघले विरोध जनाएको छ।

महासंघले मंसिर १४ देखि १८ गतेसम्म क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यालयमा समेत धर्ना दिने कार्यक्रम तय गरेको छ।