|  

भारतमा ७१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु, २० हजारभन्दा धेरै संक्रमित

२० वैशाख, काठमाडौं। भारतमा २० हजार भन्दा धेरै नेपालीमा कोरोना संक्रमण भएको छ। गैरआवासीय नेपाली संघले संकलन गरिरहेको तथ्यांकअनुसार भारतमा कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएयता ७१ जना नेपालीको मृत्यु भइसकेको छ। १७ हजार नेपाली संक्रमणमुक्त भइसकेका छन्। 

गैरआवासीय नेपाली संघले अद्यावधिक गरेको तथ्यांकअनुसार विश्वभर २१ मुलुकमा अहिलेसम्म तीन सय ८२ जना नेपालीको मृत्यु भएको छ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ भने ८२ हजार एक सय ९७ जना संक्रमणमुक्त भएका छन्।

यो साता भारतका अतिरिक्त मलेसिया, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) तथा साउदी अरबका नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।