|  

लुम्बिनीका मुख्यमन्त्री असंवैधानिक भएको ठहर, प्रदेश प्रमुखको बर्खास्ति माग

२० वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलीय गठबन्धनले अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको ठहर गरेको छ। प्रदेश प्रमुखले असंवैधानिक रूपमा मुख्यमन्त्रीमा पोखरेललाई शपथ गराएको भन्दै उक्त निर्णय खारेज गरी प्रदेश प्रमुखलाई समेत बर्खास्त गर्न गठबन्धनले माग गरेको हो। 

सोबार बुटवलमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले बहुमत सदस्यहरुमाथि प्रहरी दमन गरी अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री बनाइएको भन्दै भर्त्सना गरेका छन्। गठबन्धनले प्रदेश सरकार असंवैधानिक भइसकेको दाबी गर्दै बहिष्कार गर्नसमेत सबैमा अपिल गरेको छ। 

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जसपाका दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका नेता तारा जिसीद्वारा हस्ताक्षर गरिएको विज्ञिप्तमा प्रदेश प्रमुखले पदीय मर्यादा विपरीत असंवैधानिक रूपमा अल्पमतका पोखरेललाई मुख्यमन्त्री बनाएको आरोप लगाएका छन्। गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवले स्वेच्छाचारी ढंगले काम गरेको आरोप लगाउँदै बर्खास्तीको मागसमेत अघि सारेको हो। 

‘लुम्बिनी प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न संविधानको धारा १८३ को उपधारा ३ बमोजिम माननीय सदस्यहरुले माग गरेको विशेष अधिवेशन आह्वान गरेकै दिन संसदीय प्रक्रिया पूरा नगरी अधिवेशन अन्त्य गरिदिनु सांसद र प्रदेशसभाको विशेषाधिकार हनन हो,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश प्रमुखको यो गैरजिम्मेवारी, पदीय मर्यादाविपरीत गरिएको गैरकानुनी र असंवैधानिक कदमको विरोध गर्दै स्वेच्छाचारी प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्तको माग गर्दछौं।’ 

माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीले राजीनामा गरेका दलका नेतालाई नै पुनः मुख्यमन्त्री नियुक्ति गरी शपथ गराउनु असंवैधानिक भएको उल्लेख गरे। यस्तै, संसदीय प्रक्रियाअनुसार अविश्वासको प्रस्तावमाथि छलफल गर्न वैशाख १९ गते आह्वान गरिएको विशेष अधिवेशनमा उक्त विषयमा छलफल नै नगरी संसद् छलेको पनि उनको आरोप छ।

गठबन्धनले प्रदेशसभामा अविश्वासको प्रस्ताव टेबुल गर्न तत्काल विशेष अधिवेशनको माग गरेको छ। आफूहरुले ४२ जना सांसदसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष गरेको मागदाबीको सुनुवाइ नगरी प्रहरीको दमनमा मुख्यमन्त्री कार्यालयमा शपथ गराएकोमा पनि आपत्ति जनाएको छ।

शपथ रोक्न माग गर्दै भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको थियो। सो क्रममा महिला सांसदमाथि हातपात र दुर्व्यहार भएकाले छानबिन गरी कारबाही गर्न गठनबन्धनको माग छ। 

प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८(१)ं अनुसार मुख्यमन्त्रीमा शंकर पोखरेललाई आइतबार राती ८ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर समथ खुवाएका थिए। गठबन्धनले भने संविधानको धारा १६८ (२) अनुसारको सरकारको मागदाबी गरेको छ।