|  

मन्त्रिपरिषदको निर्णय : प्रचण्डको आफन्तलाई फिर्ता बोलाइयो, देउवाको सासुको भने पदावधि थप 

२१, वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रको कोटाबाट अस्ट्रेलियाका राजदूत भएका महेशराज दाहाललाई नेपाल र्फिता गर्ने निर्णय भएको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले नै अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अस्ट्रेलियाको राजदूत  फिर्ता गर्ने निर्णय गरिएको र दुई स्थान जापान र ओमानमा अर्को व्यवस्था नभएसम्म काम गरिरहन भनिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले  बताए । अहिलेसम्म भएका कार्यसम्पादन मूल्यांकन र सरकारका लागि उपयुक्त नदेखिएको कारण दाहाललाई फिर्ता गर्ने सिफारिस परराष्ट्र मन्त्रालयको थियो । 

माओवादी अर्थात दाहाल निकटका राजदूतलाई फर्काउने नीति अनुरुप नै सरकारले दाहाललाई फिर्ता गरेको हो । प्रदेश प्रमुख राजदूत र अन्य नियुक्तिसमेत फेर्ने प्रतिशोध नेतृत्वमा रहनेले गरिरहेका छन् । माओवादीको  विश्लेषण अनुसार यस्ता कार्य नगरिने बताए पनि अन्तत आफ्नालाई भाग पुर्‍याउन र लोभ देखाउन पनि सरकार लागि परेको छ । 

माओवादीका पुष्पकमल दाहालका नातेदारसमेत रहेका उनी दाहालकै कोटाबाट राजदूत नियुक्त भएका थिए । दाहाल अघि राजदूत रहेकी लक्की शेर्पा पनि कार्यकाल पुरा नगरी फर्कन परेको थियो । उनी त्यहाँ विवादमा परेपछि सरकारले फिर्ता बोलाएको थियो । 

त्यसैगरी सरकारले  कोभिड महामारीलाई मध्यनजर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई भने अर्को व्यवस्था नभएसम्म भन्दै म्याद थप गरेको छ । उनी जापानमा अहिलेसम्मकै कमजोर राजदूतमा दर्ज भएकी छन‍् ।

उनी राप्रपा कोटामा राजदूत भए पनि उनीसँगै नियुक्त भएकाहरूलाई सरकारले पहिले नै फिर्ता गरिसकेको छ । तर उनलाई भने राप्रपाको नेता भन्दा पनि प्रमुख प्रतिपक्ष दलको सभापतिकी सासूको हिसाबले उनलाई नचलाइएको परराष्ट्र अधिकारीहरू नै बताउँछन् । देउवा खुसी राख्‍ने ओलीको कूटनीति हो । नेपाल जापान बलियो बनाउने कूटनीति होइन ।  कोभिड आरम्भ हुँदा काठमाडौँ आएर लामो समय बसेकी उनले जापानमा विरलै रहिन । रहँदा पनि दूतावास भन्दा निवासमा नै रमिन । 

ओमानकी राजदूत शर्मीला पराजुली ढकालको पनि पदावधी थप भएको छ । उनीले आफूलाई ओली निकट व्यक्तिको रुपमा छवी बनाएकी छन् । तर उनी अहिले रहेका राजदूतमा सक्रिय राजदूतको पहिचान  पनि बनाएकी छन् ।