|  

दैनिक ४५ सय नेपाली घर फर्किँदै,भारतमा आधारकार्ड नहुनेलाई उपचारमा समस्या 

२१ वैशाख, काठमाडौं । कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली घर फर्किने गरेका छन् ।

पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जनाकारी दिए । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए ।

मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै भारतका लागि नेपाली राजदूत आचार्यले भने, ‘तथ्याङ्गत रुपमा हेर्दा अहिले हरेक दिन ४५ सय नेपालीहरु घर फर्किरहेको देख्छौं । सबैभन्दा बढी चाप सुदूरपश्चिमतिर छ ।’

नेपालीहरुलाई उनले सकभर घर नजान आग्रह गरेको बताए । आचार्यले भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको जानकारी दिए । भारतमा संक्रमित भएका नेपालीहरुलाई दूतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्ने काम भइरहेको पनि राजदूत आचार्यले बताए ।

भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुविधा नपाएको गुनासो आइरहेको छ । आधार कार्ड नहुँदा सेवा सुविधा पाउन नसकिने भन्ने कुरा छ ।