|  

अस्पतालले भर्ना लिन मानेनन्, घर फर्किएपछि लडेर मृत्यु

२१ वैशाख, काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो ।

उनी स्थानीय बजारमा होटल सञ्चालन गर्दै आएका थिए । उनले मेडिकल पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ असहज भएपछि साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगेका थिए। प्रादेशिक अस्पतालसहित केही निजी अस्पतालमा उपचारका लागि कोशिस गरे । तर कसैले भर्ना लिन मानेनन् ।

सोमबारै राति नै घर फर्केका उनलाई मंगलबार बिहान ५ बजेतिर सास फेर्न असहज भयो । नजिकैको आरपी मेडिकल जान लाग्दा एक्कासी लडेर मृत्यु भएको वडा सदस्य रामबाबु रविदासले जानकारी दिए । परियारमा कोरोनाको जस्तै लक्षण रुघाखोकी लागेको थियो । रुघाखोकीले सास लिन नै कठिनाइ भएपछि उनी उपचारका लागि जनकपुरधाम गएका थिए ।

उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम, जनकपुरधामको जानकी हेल्थ केयर र रामजानकी अस्पतालमा उपचारको लागि लगिएको थियो । निजी अस्पतालले रकम जम्मा गर्न भनेपनि प्रदेश सरकारअन्तर्गत रहेको प्रादेशिक अस्पतालले समेत उनलाई भर्ना नगरेको विषयमा बुझ्ने काम भइरहेको छ ।