|  

संघ/संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह

२१ वैशाख, काठमाडौँ । समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ ।

परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन भइरहेका परियोजनाको कूल बजेटबाट रकमान्तर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रमा उपचार सहायता गर्न आग्रह गरिएको   हो । ती संस्थाले अक्सिजन, सिलिन्डर, लिक्विड, भेन्टिलेटर, आइसियुलगायत सामग्रीमा सहायता गर्न सक्नेछन् ।

यसरी सहायता गर्दा पाँच करोड रुपैयाँसम्मको परियोजना चलाएकाले २०, १० करोड भएकाले १५, २५ करोड रूपैयाँ भएकाले १०, रु ५० करोड भएकाले सात प्रतिशत र सोभन्दा माथिको परियोजना चलाउने संस्थाले पाँच प्रतिशतको सीमामा रही सहायता गर्न सक्नेछन् ।