|  

एसियन भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने पक्का

४,जेष्ठ काठमाडौं । २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने भएको छ ।

नेपालले समेत खेल्ने तय भएको प्रतियोगिता चीनबाट सरेर फिलिपिन्स पुगेको हो । यसअघि प्रतियोगितामा चीनमा हुने टुङ्गो लागेको थियो । प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २१ सम्म सञ्चालन हुने एसियन भलिबल महासंघ एभीसीले जनाएको छ।

फिलिपिन्सले यसअघि दुई पटक प्रतियोगिताको आयोजना गरिसकेको छ । उसले सन् १९९७ र २०१७ मा प्रतियोगिताको आयोजना गरेको थियो । चीनले प्रतियोगिता आयोजनाबाट हात झिकेपछि फिलिपिन्सले यो अवसर पाएको हो । चीनले केही कारण देखाउँदै आयोजनाबाट हात झिकेको छ । तर एभीसीले कारण भने खुलाएको छैन ।

यस्तै, पुरुषतर्फको सिनियर भलिबल च्याम्पियनसिप भने जापानले आयोजना गर्ने भएको छ ।