|  

बिएण्डसीको सम्बन्धन प्रक्रिया रोक्न डा. केसीले जारी गरे विज्ञप्ति 

४ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएपछि डा.गोविन्द केसीले त्यसको विरोध गरेका छन्। 

आइतबारमात्रै बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई काठमाडौं विश्वविद्यालयले पत्र पठाएपछि डा. केसीले विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन्।  

विश्वविद्यालयका पदाधिकारीले पदको दुरुपयोग गरी अवैध कदम चालेको भन्दै उनले विरोध गरेका हुन्। डा. केसीले विज्ञप्ति जारी गर्दै हाल कायम ऐनका प्रावधानहरू नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयूले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको अवैध कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’   

प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको भन्दै डा. केसीले आयोगलाई लत्याउँदै आपराधिक चरित्रका नेताहरुको इशारामा भएको निर्णय स्विकार्य नभएको जनाएका छन्। ‘चिकित्सा शिक्षा ऐन अनुसार कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्दैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘केयुले यस अगाडि नै त्यसभन्दा निकै बढी संख्यामा निजी मेडिकल कलेजहरुलाई धन्दा चलाउने अनुमति दिइसकेको छ।’

निरीक्षणको फर्जी कागज बनाएर अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गरेको उनले बताएका छन्। काठमाडौं विश्वविद्यालयले गरेको भनिएको फर्जी निरीक्षण प्रतिवेदन तथा त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न उनको माग छ।