|  

निष्क्रिय भएका बैंक खाता अनलाइनबाटै सुचारु गर्न सकिने

४ जेठ, काठमाडौं । ग्राहक पहिचान अद्यावधिक (केवाईसी अपडेट) नभएर निष्क्रिय भएका बैंक खाता अनलाइनबाट पुनः सुचारु गर्न सकिने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमार्फत केन्द्रीय बैंकले यस्तो घोषणा गरेको हो ।

कोभिड १९ बाट विकसित भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक नभएका कारण निष्क्रिय भएका बैंक खाताको हकमा यस्तो व्यवस्था लागू हुनेछ ।

त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यमबाट समेत केवाईसी अपडेट गरी त्यस्ता खाता सुचारु गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ ।

राष्ट्र बैंकले यसका लागि आवश्यक व्यवस्था तय गरी निर्देशन दिनेछ । त्यसो त केही बैंकहरुमा नागरिक एपबाट केवाईसी अपडेटसँगै नयाँ खाता खोल्न सकिने सुविधा समेत सुरु भइसकेको छ ।