१७ जेठ, काठमाडौं । रोल्पाको तारा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने निशा सेन वैशाख १५ गते देखि सञ्चालन हुने परीक्षाको अन्तिम तयारीमा थिइन् ।
परीक्षाको तयारी गरिरहेकी उनले वैशाख १४ गते परीक्षा स्थगित भएको थाहा पाइन् । अन्तिम कक्षा ८ को अन्तिम परीक्षा स्थगित भएको सूचनाले उनलाई निकै दुःखी बनायो ।
परीक्षा स्थगित भएसँगै विद्यालय समेत बन्द भयो । विद्यालय बन्द भएको एक महिना पूरा भयो, उनलाई किताब हेर्न रुची लाग्दैन । अघिल्लो वर्ष पनि यस्तो समस्या भोगेकी उनले यसवर्ष सहजताका साथ परीक्षा दिने आशामा थिइन् । परीक्षा स्थगित भएको एक महिना पूरा भइसक्यो तर अझै उनको परीक्षा कहिले हुन्छ भन्ने टुंगो छैन ।
त्यसैगरी ब्राइट फ्यूचर आवासीय विद्यालयमा अध्ययनरत नितेश थापा विहान उठेदेखि मोबाइलमा व्यस्त हुन्छन् । किताब हेर्न त परै जाओस् मोबाइलमा गेम खेल्दै उनको दिन बित्ने गर्दछ ।
रोल्पाका अधिकांश विद्यार्थीहरुको यस्तै भोगाइ छ । छिमेकी जिल्लाहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन भएको खबर सुन्ने उनीहरु आफैँ भने यसबाट समेत वञ्चित रहँदा शैक्षिक भविष्य नै अन्यौल हुने हो कि भन्ने चिन्तामा छन् ।
अघिल्लो वर्ष जस्तै कोरोनाको महामारी देखिन सक्ने भन्दै रोल्पा नगरपालिकाले जेठ २ गते देखि सञ्चालन गर्ने भनिएको कक्षा ५ र ८ को नगरस्तरीय परीक्षा १९ दिन अघि वैशाख १५ देखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।
नगर क्षेत्रका अधिकांश विद्यालयहरूले अन्य कक्षाको परीक्षा पनि सोही मितिकै आसपासमा गर्ने तयारी गरेका थिए । केही विद्यालयहरूले कक्षा १० को टेष्ट परीक्षा सम्पन्न गरिसकेका थिए ।
नगरस्तरीय परीक्षाका लागि प्रश्नपत्र समेत वितरण भइसकेको थियो । परीक्षाको भौतिक, आर्थिक र व्यवस्थापकीय तयारीको सबै काम पूरा भइसकेको तथा विद्यार्थी पनि परीक्षाका लागि पूर्ण रुपमा तयारी भइसकेका बेला एकाएक स्थगित भएको परीक्षाले यहाँका विद्यार्थीहरुको शैक्षिक भविष्य अन्योलमा परेको छ ।
भौतिक तथा वैकल्पिक दुवै पठनपाठनबाट लामो समयदेखि वञ्चित भएका उनीहरु दुर्व्यसनको शिकार हुने हुनकी भन्ने चिन्ता अभिभावकले व्यक्त गर्न थालेका छन् ।
विद्यालय बन्द भएको एक महिनासम्म जिल्लाका कुनै पनि विद्यालयहरूले वैकल्पिक विधिद्धारा पठनपाठन गर्ने तत्परता नदेखाउँदा पढेका विषयवस्तु पनि विद्यार्थीहरुले विर्सदै जान थालेकोप्रति अभिभावकले चिन्ता गरेका छन् ।
विद्यालय बन्द भएको एक महिना पुग्दासम्म आफ्ना छोराछोरीले किताब नहेरेको अभिभावक तीर्था आचार्यको भनाई छ । आफूले त बालबालिकाले चौबीसै घण्टा मोबाइलमात्र हेर्ने गरेको देखेको आचार्यले बताइन् ।
मोबाइलको लतबाट उनीहरुलाई कसरी छुट्कारा दिने हो भन्ने नै अहिलेको चिन्ताको विषय भएको आचार्यले बताइन् ।
अघिल्लो वर्ष अनलाइन कक्षा तथा रेडियोबाट पठनपाठन सञ्चालन भएकाले केही सहज भएको भए पनि यसपालि त कुनै विद्यालयले पनि अनलाइन कक्षा लिएको देखिएन, उनले सुनाइन् ।
कोरोनाका कारण भएको निषेधाज्ञा कहिलेसम्म लम्बिने हो निश्चित नभएकाले विद्यालयहरूले वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने आचार्यको भनाइ छ ।
त्यसो त सदरमुकाम लिवाङ र एकाध बजार केन्द्रबाहेक रोल्पाका अधिकांश ठाउँमा इन्टरनेटको पहुँच नभएकाले वैकल्पिक पठनपाठनको लागि प्रभावकारी मानिएको भर्चुअल कक्षाको पनि सम्भावना निकै कम छ ।
जिल्ला सदरमुकाम र बजार केन्द्रमा रहेका विद्यालयमा पढ्न आएका विद्यार्थी पनि कोरोनाको त्रास तथा विद्यालयको पठनपाठनको अनिश्चितताका कारण घर गइसकेको छन् ।
घरमा उनीहरुलाई पनि नेटको पहुँचमा ल्याउन निकै कठिन रहेको अघिल्लो वर्षको अनुभव रहेको बालकल्याण नमूना माविका व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको भनाई छ ।
सदरमुकाम आसपासमा बस्नेहरुका लागि भर्चुअल माध्यमबाट पठनपाठनको सम्भावना भए पनि ग्रामीण भेगमा रहनेहरूका लागि कम सम्भावना देखियो न्यौपाने बताउँछन् । अघिल्लो वर्ष अनलाइन कक्षाको अभ्यास गरेपनि निकै कम विद्यार्थीले मात्रै लाभ लिएको देखियो न्यौपानेले भने ।
रोल्पामा रेडियोमार्फत दिइने वैकल्पिक शिक्षाको सम्भावना अरुको तुलनामा बढी प्रभावकारी देखिन्छ । एक अध्ययनअनुसार ९२ प्रतिशत रोल्पालीसँग स्थानीय रेडियोहरुको पहुँच छ ।
अघिल्लो वर्ष रोल्पाका केही स्थानीय तह र विद्यालयहरूले रेडियोमार्फत नै पठनपाठन गरेका थिए । स्थानीय तहबाट बजेट व्यवस्थापन गरी यस्ता कक्षा सञ्चालन गर्ने स्थानीय तहमा रोल्पा नगरपालिका र लुङ्ग्री गाउँपालिका देखिएका थिए ।
उनीहरुले जिल्ला सदरमुकाममा रहेका सामुदायिक रेडियोहरुबाट यस्तो कक्षा सञ्चालन गरेका थिए ।
लुङ्ग्री गाउँपालिकाले एसईई परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरेको रेडियो कक्षामा सहभागी विद्यार्थीलाई एक एकवटा रेडियोसमेत उपलब्ध गराएको थियो ।
जिल्ला सदरमुकाममा रहेको बालकल्याण माविले रेडियो शिक्षा, अनलाइन कक्षा र टोल शिक्षाको माध्यमबाट पठनपाठन कार्यलाई निरन्तरता दिएको थियो । लामो समयसम्म भएको विद्यालय बन्दले विद्यार्थीहरु कुलतमा फस्ने खतरा रहेको शिक्षकहरुको भनाई छ ।
यहाँका विद्यार्थीहरु गाँजा चरेसजस्ता लागू पदार्थ सेवन गर्नुको साथै बरालिएर हिँड्ने गरेको समेत देख्न थालिएको पिताराज आधारभूत विद्यालयका प्रधानाध्यापक लिला आचार्यले बताए ।
अघिल्लो वर्ष परीक्षा नदिएरै कक्षा चढाएका कारण यस वर्ष पनि परीक्षा नदिएरै पास भइन्छ भन्ने धारणा मानसिकतामा यहाँका विद्यार्थी रहेको आचार्यले भने ।
अघिल्लो वर्षको कक्षा चढाउने तरिकाका कारण पनि विद्यार्थीहरुमा पढाइप्रति चासो घटेको आचार्यले भने ।
सुगम ठाउँमा मात्रै सञ्चालन हुने वैकल्पिक कक्षाले सुगम र दुर्गमका विद्यार्थीबीच दरार उत्पन्न गरेको आचार्यको भनाई छ । सबै विद्यार्थीको पहुँचमा पुग्नसक्ने वैकल्पिक कक्षा आवश्यक रहेको आचार्यले वताए ।
आधुनिक प्रविधि प्रयोग गरेर वैकल्पिक पठनपाठन गर्नु राम्रो कुरा भएपनि रोल्पामा यसको सम्भावना निकै कम देखिएको नेपाल शिक्षक संघ रोल्पाका अध्यक्ष भगवती मल्लले जानकारी दिइन् ।
अधिकांश शिक्षक नयाँ प्रविधिसँग अध्यावधिक छैनन् भने विद्यार्थी पनि नेटको पहुँचमा नहुदा नयाँ प्रविधिको प्रयोगमा निकै समस्या रहेको बालमन्दिर प्राथमिक विद्यालय रोल्पाका शिक्षिका मल्लले भनिन् ।
जिल्लाका स्थानीय तहहरुले नेटको पहुँच विस्तार गरेर सबै विद्यालयलाई यसको पहुँचमा ल्याउन जरुरी रहेको उनको सुझाव छ । प्रविधियुक्त विद्यालय र त्यसलाई प्रयोग गर्न सक्ने शिक्षक अहिलेको आवश्यकता रहेको मल्लको विचार छ ।
रोल्पाका संस्थागत विद्यालयहरूले समेत यस्तो समस्या भोगिरहेका छन् । सदरमुकाम तथा घना बस्ती रहेको बजार क्षेत्रमा रहने यस्ता विद्यालयहरूले पनि वैकल्पिक कक्षा सञ्चालन गर्न सकेका छैनन् ।
विद्यालय जिल्ला सदरमुकाममा रहे पनि विद्यार्थी सबै ग्रामीण क्षेत्रबाट आउने ती विद्यालयहरूको भनाइ छ । आफ्नो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ८० प्रतिशत विद्यार्थी ग्रामीण क्षेत्रका रहेको होली भिजन आवासीय माविका प्राधानाध्यापक ओम केसीको भनाई छ । “विद्यालयमा मात्र नेटको पहुँच भएर के गर्नु, विद्यार्थीको घरमा नेट हुँदैन” केसीले भने।
सरकारले शैक्षिक सत्रको टुंगो नलगाउँदा विद्यालयहरु अलमलमा परेका छन् । वैकल्पिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयलहरुले पनि शैक्षिक सत्रको टुंगो नलाग्दा अन्योलमा परेको देखिएको प्राधानाध्यापक केसीले भने ।
वैकल्पिक कक्षा नयाँ शैक्षिक सत्रको गर्ने की पुरानैको गर्ने भन्ने अन्यौल छ केसीले बताए । लामो समयसम्म पढाइको पहुँचमा नहुदा विद्यार्थीहरुमा नकारात्मक काममा प्रोत्साहित हुने खतरा बढ्नसक्ने प्रधानाध्यापक केसीको चिन्ता छ ।
शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका अनुसार जिल्लाका चार ४०२ विद्यालयमा ६७ हजार ९८८ विद्यार्थी अध्ययनरत छन् ।
जिल्लामा विद्यालयमा आधारित ३६९ र समुदायमा आधारित ३८ सहित ४०७ वटा बाल विकास केन्द्र रहेका छन् ।
छात्र पाँच हजार ५४६ र छात्रा चार हजार ९१५ गरी कूल दश हजार ४६० बालबालिकाले ती बाल विकास केन्द्रमा अध्ययन गर्दछन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar