२१ जेष्ठ काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्। बिहीबार समूहका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उनलाई विश्वास गर्न नसकिने बताए। उनीहरूले विश्वासिलो आधार तयार पारी विवाद सुल्झाउन ओली नै अग्रसर हुनुपर्नेमा जोड दिए।
नेता माधव नेपाल निकटका केन्द्रीय सदस्य विरोध खतिवडाका अनुसार बैठकमा ओलीले जालझेल गरेको, २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउछु भनेर पाँचचोटि भनेको तर नफर्काएको, जसले गर्दा विश्वास गर्ने आधार नभएको धारणा आएको थियो। ‘आज चारपाँचथरी विषय उठेका छन्। मुख्यगरी ओलीले विश्वास गुमाएको कुरा उठेको छ।
नेताहरूलाई कारबाही गर्ने अनि वार्ताको कुरा गरेर अलमल्याउने कुरा उठेको छ। संविधानविपरीत कार्य गरेको कुरा उठेको छ। तर पनि सम्मानजनक एकताको विषयमा साथीहरू एकमत हुनुभएको छ। सम्मानजनक एकता नभए विकल्पको विषय पनि तदारुकताका साथ उठेको छ’, उनले भने।
खतिवडाका अनुसार अहिले नै सबै विषय टुंग्याउने भन्दा पनि संवादको नाममा अलमल्याउने काम गर्न नहुने धारणा अधिकांशले राखेका थिए। ‘ओलीले धेरैजसो समय संकटका बेला मात्रै जेठ २ मा फर्कन्छु भन्ने संकट टरेपछि पुरानै अवस्थामा फर्कने गरेका कारण विश्वास गर्ने आधार नभएको हो। यो विषय टड्कारो रूपमा उठेको छ’, खतिवडाले भने।
केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार बैठकमा मुख्यगरी ६ वटा विषय उठेका छन्। २०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्कन सबैजसो नेता सहमत छन्। त्यसका लागि ओलीले विश्वासको वातावरण बनाउनुपर्ने, पार्टी विभाजन गर्नुहुँदैन भन्नेमा सबैको सहमति तर माथिदेखि तलसम्म विचार समूहको आधारमा सम्मानजनक एकता नभए विकल्प दिनुपर्ने, नेताहरूमाथि भएको कारबाही फिर्ता गर्नुपर्ने, अध्यादेशलगायत संसद् विघटनजस्ता प्रकरणमा भएका कमजोरी स्वीकार गर्नुपर्ने विषयले बैठकमा प्राथमिकता पाएका थिए।
‘पार्टी २०७५ जेठ २ को अवस्थामा फर्काउँछु मात्र भनेर हुँदैन। सबै संरचनालाई जेठ २ मै फर्काउनुपर्छ भन्नेमा सबै नेताको एउटै धारणा रहेको छ।
साथै तलदेखि माथिसम्म सम्मानजनक अवस्थामा विवाद निरूपण हुनुपर्ने कुरा उठेको छ।
साथीहरू पार्टी विभाजन हुनुहुँदैन भन्नेमा सहमत हुनुहुन्छ’, गैरेले भने। उनका अनुसार ओली पक्षसँग संवाद गरिरहेका नेताहरूले पनि बिहीबारको बैठकमा अहिलेसम्मको प्रगतिबारे जानकारी गराएका थिए।नागरिक दैनिक
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar