|  

पूर्वी पहाडी जिल्लाकै पहिलो आइसीयू सङ्खुवासभा सञ्चालन

२१ जेष्ठ काठमाडौं । सङ्खुवासभा जिल्ला अस्पतालमा आइसीयू सञ्चालन हुने भएको छ ।  पूर्वी पहाडी जिल्लामै पहिलोपटक आइसीयू सञ्चालनका लागि बिहीबार एक कार्यक्रमबीच जिल्ला अस्पताल र गुठीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसीयू सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला अस्पतालमा गुठीका अध्यक्ष तथा पूर्वसभासद पासाङ शेर्पा र जिल्ला अस्पताल सङ्खुवासभाबीच द्विपक्षीय सम्झौता भएको हो । 

जिल्ला अस्पताल व्यवस्थापन समितिले जतिसक्दो चाँडो आइसीयू सञ्चालनका लागि कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट नियुक्ति गर्नका लागि कुनिना शैक्षिक गुठीले मासिक रु तीन लाख अस्पताललाई उपलब्ध गराउने सम्झौता गरिएको छ । 

आइसीयू सञ्चालनका लागि मासिक तलब गुठीले उपलब्ध गराएको रकम अन्यत्र खर्च गर्न नपाइने गरी सम्झौता गरिएको हो । विशेषज्ञ जनशक्ति ल्याउनका लागि गुठीले सहयोग गरेको गुठीका अध्यक्ष शेर्पाले बताए । 

विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्या सञ्चालनमा रहेको छ । सङ्खुवासभाको १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा आउने गरेका छन् ।