२१ जेष्ठ काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म सडक डाइभर्सन गरेर सात स्थानमा पुल निर्माणको काम जारी रहेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । “सडकलाई डाइभर्सन गरेर माइनर ब्रिजको काम अगाडि बढाइएको क्षेत्रमा मनसुन अगाडि नै काम सक्ने योजना बनाएर निर्माण अगाडि बढेको छ”, दिस्टीले भने, “वर्षा अगाडि पुल निर्माणको काम सकियो भने बाढी र भेलले कुनै असर पार्दैन अन्यथा भेलबाट पुलको काम प्रभावित हुनसक्छ ।” नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको दिस्टीले बताए ।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटर क्षेत्रलाई दुईवटा खण्डमा विभाजन गरेर सडक विस्तारको काम अगाडि बढाइएको छ । गैँडाकोटबाट दाउन्ने ९६५ किमी० खण्ड–१ र दाउन्नेबाट बुटवल ९४९ किमी०लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको छ । दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको छ ।