|  

सुप विश्वविद्यालय : स्थगित परीक्षा अनलाइनबाट हुने

२३ जेठ, काठमाडौँ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयानुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन् ।

स्नातक तह दोस्रो, चौथो र छैटौँ सेमेष्टरका परीक्षा आगामी साउन ५ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तले जानकारी दिनुभयो । बैठकपछि विश्वविद्यालयको केन्दीय कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातक दोस्रो, चौथो र छैटौँ सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षा यही जेठ २५ देखि सञ्चालन हुनेछन् ।

कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञा पनि जारी रहेकाले वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा गरिन लागिएको हो । यद्यपि अवस्था सामान्य भएमा तथा नेपाल सरकारले निर्णय गरेमा कक्षा र निर्धारित परीक्षा भौतिकरूपमै सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जेठ मसान्तभित्र कार्यविधि तयारी पार्ने र असार २० गतेसम्म परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसक्ने जनाएको छ । परीक्षालाई लिखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणात्मक उत्तर दिनुपर्ने खालको प्रश्नपत्र तयार पारिनेछन् ।