|  

कुमारी विश्वासमाथि गरिएको निर्मम घातले जन्माएको घृणा !

लक्ष्मी सापकोटा, 
२४ जेठ, २०७८ काठमाडौं ।
प्रेम युवापुस्ताको लागि कौतुहलताको बिषय हो तर प्रेमको नाममा व्यक्तिगत फाइदा उठाउदै प्रेमिकालाई फसाएर आफ्नै स्वार्थ पुरा गर्नेको जमात वर्तमान समयमा बढ्दै गएको छ । अहिलेको युवा समाजलाई प्रेम हुनु भनेको नै यौन सम्बन्ध हुनु हो भन्ने मानसिकताले धेरै गाजेको देखिन्छ । 
  

प्रेमको नाममा व्यक्तिगत फाइदा उठाएर अवैध तरिकाबाट जन्मिएका बच्चा पाल्न समस्या हुने आमाहरुको संख्या नेपालमा ठुलो छ । अनिश्चित गर्भहरुलाई त प्राय फाल्ने गरिन्छ तर हुर्कि सकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनु बाहेक अरु विकल्प हुदैन । सुनसरीकी २८ बर्षीया निर्मला यादव (नाम परिवर्तन) यसको एक गतिलो उदाहरण हुन । 
    

करिब करिब डेढ, दुई बर्षजति भयो होला उनको र मेरो राम्रो चिनजान भएको । म बस्ने डेरा टेलिकमको नजिक भएकोले म प्राय मोबाइलमा रिचार्ज गर्न तथा नेटको पैसा त्यही जान्थे । निर्मला त्यही टेलिकममा तल्लो तहको कर्मचारी थिइन । मेरो र उनको डेरा नजिक नजिक पर्ने भएकोले म उनको डेरामा आउने जाने गर्दा उनलाई झनै नजिकबाट नियाल्ने मौका पाए । 
    

जेठ–असारतिर टेलिकममा आरु बखडा रताम्य भएर पाकिरहेका हुन्थे । उनले मलाई “ए कान्छी” आरु बखडा खान आउ भन्दै फोन गरी गरी बोलाउने गर्थिन र आफ्नो विगतको कुरालाई मसंग पोख्दै भन्ने गर्थिन, म कति अभागी नारी ? मैले उनलाई प्रश्न गरे ΄किन’ ? हरिया आरु बखडाका बोटहरु र लस्करै उभिएका धुपीका बास्नादार बैसालु पातहरु चञ्चल पवनको झोक्कासंगै फरफराईरहेका थिए । यत्तिकैमा उनले मतिर फर्कदै भनिन्’,΄तिमी सुन्छौ मेरो “पापी प्रेम” लाई ? ΄मैले टाउको हल्लाउदै ΄इसारा’ गरे’ । 
    

स्कुले जीवनमै गाउँकै एक युवक (दाईको साथी) संग प्रेममा परे, प्रेम म भन्दा आठ, नौ बर्षले जेठो थियो, हामी हरेक हप्ता साझको चार बजेपछि एउटा झम्म परेको रुखमुनि बसेर हरियो दुबोले ढाकेको जमिनमा घण्टौ बसेर गोधुली साझ परेपछि अंकमाल गरेर छुटिन्थ्यौ, म प्राय स्कुल पोशाकमै स्कुल ब्याग बोकेर जाने गर्दथे, भेट्दा भेट्दै भावनाहरु साटासाट भएको पत्तै हुन्थेन, उनले भनिन,΄लाग्थ्यो हाम्रो प्रेम चियाका मुना जस्तै भर्खर पलाएको छ ’ । 


΄मैले उनलाई हेरिरहे’ ।΄यसो हेर्दा उनको बाटुलो अनुहार, गहुगोरी, बिचबाट सिउँदो निकालेर कालो लामो लरक्क चुल्ठी बाटेको कपाल, होची होची, फक्रिन लागेको गुलाफ जस्तो मुहारमा अनार झै मिलेका दन्त देखाएर मुसुक्क हास्दा दाहिने गालामा परेको दोपिल्टोले झनै हिस्सी देखिन्थीन उनि’ । लाग्थ्यो भगवानले उनलाई कति मिहिनेत गरेर बनाइदिएका होलान । 


दाई भाउजु सुनसरीको सदरमुकाम बस्ने हुनाले म पनि दाई भाउजुसंगै सदरमुकाम बसेर स्कुल पढ्दै थिए । एस.एल.सी को परिक्षा आउनै लाग्दा दाईले बहिनीले राम्रो अंक ल्याएर पास होस भन्ने चाहनाले ट्युसन पढाउने शिक्षकको व्यवस्था गरिदिनुभयो, । यो कुरा प्रेमलाई मन परेको थिएन, उ मलाई अरुले मन पराईदेलान भन्ने कुराले चिन्तित हुन्थ्यो, ΄उनले भनिन्’। एस.एल.सी को परिक्षा सके लगतै भोलिपल्ट फिल्म हेर्न गएँ म । त्यस दिन मलाई शारिरिक रुपमा कमजोर महसुस भएको थियो । परिक्षा सकिएको हुनाले फिल्म हेरेर आएको दिन खाजा बनाउने जिम्मा मलाई दिनुभएको थियो भाउजुले । 


म खाजा बनाउन भान्सामा थिए, रिङगटा लागेर भुइमा ढलेछु । होस खुल्दा त हस्पिटल । दाईलाई सोधे ΄मलाई किन यहाँ ल्याउनु भएको ? के भयो र मलाई ? दाई केही नबोली मौन बस्नुभयो, भाउजुले दारा किट्दै भन्न थालिन “हाम्रो नाकमा गु लगाएर अझ बुझपचाउन लाज लाग्दैन”? दाईले आसु झादै सोध्नुभयो, “नढाटी भन बहिनी तिम्रो को संग अनैतिक सम्बन्ध थियो, कुन पापीको गर्भ हो”? तिमीले यो सबै के गरेको ? हे भगवान अब कसरी शीर ठाडो पारेर हिड्ने ? मलाई आकाशले थिचे जस्तो भयो, ΄उनले भनिन्’ ।

अनैतिक सम्बन्ध लुकाउन सक्ने अवस्था थिएन । आफ्नै मिल्ने साथीबाट यस्तो घृणित काम भएको देखेर दाई छाँगाबाट खसे जस्तो हुनुभयो । उहाँले आफ्नो साथीलाई बोलाएर टिका लगाउनु बाहेक अरु विकल्प नभएको बताउनुभयो । गर्भ रहेको डेढ महिनामा थाहा पाएपछि प्रेमले मलाई स्वीकार्ने आश्वासन दिए तर घरमा दाईको बिबाह नभएकोले परिवारको इच्छा विपरित घरमा बुहारी भित्राउन नसक्ने भन्दै चार, पाचँ महिनापछि मात्रै घरमा भित्राउने कुरा ग¥यो । तर त्यसको चौथो महिना देखि प्रेम एक्कासी सम्पर्क बिहिन भयो, मोबाइल अफ भएकोले सम्पर्क गर्न कठिन भयो । सम्पर्क विहिन भएपछि मेरो परिवार उसको गाउँ सम्म पुग्यो । 

मैले उनका कुरा सुनिरहे, ΄उनि आफ्ना कुरा एकोहोरी राख्दै गइन,΄उ भारतमा रहेको मेरा आफन्तले सुनाएँ । ΄उसले त अर्कै बिहे गरेर भारत लगेको रहेछ’, ΄उसको आमाले नै गर्भवती केटी भित्राउन नसक्ने भन्दै पहाडकी युवतीलाई तराईको सम्पतिको लोभ देखाएर बिहे गराई पठाएकी रहिछन्’। यति चाडै यति ठुलो धोका कल्पना पनि गरेकी थिइन । 

पे्रमको अर्को बिहेको खबर सुनेपछि आफ्नो गर्भमा हुर्किरहेको बच्चाको आवश्यकता ठानिन् । गर्भ तुहाउनका लागि गोप्य रुपमा घरायसी औषधी खाए तर सफल नभएपछि निजी मेडिकलमा गयौ । डाक्टरले म तर्फ फर्कदै भन्यो, ΄बच्चा पाचँ महिना पुगेर छ महिना लागेको रहेछ ,गर्भ फाल्न धेरै जोखिम हुन्छ ,आमालाई पनि बचाउन कठिन हुन्छ ,तपाईहरु जोखिम मोल्न तयार हुनुहुन्छ त’? उनका आखाँभरी आसु थिए, एकैछिन शुन्यता छायो, उनि केही बोलिनन् । 
    

केही समयपछि उनि केही सहज हुदै भनिन् ,“म ज्यानको बाजी राखी रगतको आहालमा डुबेर सन्तानको हत्या गराएर घर फर्किन चाहन्न” मेरो गर्भमा रहेको शिशुको धड्कनले नै मलाई बाच्न साहस दिएको छ, । मैले डाक्टर तर्फ फर्कदै भने उनले भनिन् ΄आफ्नो पेटमा भएको बच्चालाई जन्म दिने प्रण गरे घर फक्यौ । त्यो दिन रातभरि छट्पटाईरहे । 


घर परिवारको दबाबमा प्रेमले आफुलाई अस्वीकार गरेको बताउदै न्यायका लागि सहयोग गरिदिन उसले फेसबुकमा राखेका फोटा र मोबाइलमा पठाएका म्यासेज लिएर महिला तथा बालबालिका कार्यालय सुनसरीमा पुगे । त्यस संस्थाले फेसबुकमा राखेको फाटोलाई मात्र आधार मानेर दोषी ठहर गर्न नमिल्ने भन्दै जिल्ला अदालत जान सुझाव दियो । हिड्दा हिड्दा म शिथिल भैसकेकी थिए, प्रेमको घरमा कुरा गर्दा आलटाल गदै भागे । उनले भनिन,΄जति भने पनि कुरा नसुनेकाले मुद्धा जिल्ला अदालमा मुद्धा हाल्यौ, अहिले सम्म फैसला हुन सकेको छैन । 

΄अनि’ ,       

प्रेमले मलाई अस्वीकार गरी अर्को बिहे गरेको थाहा पाएपछि समस्या भयो, उनले भनिन्, “न त पाल्न सकिने रहेछ , न त फाल्न नै”। फाल्नका लागि आफ्नो ज्यान जोखिममा राख्नु पर्दथ्यो भने पाल्नका लागि समाजलाई जवाफ दिनु पर्दथ्यो’। दुवै गर्न नसक्ने भएपछि परिवारको सल्लाहमा सुनसरी स्थित श्रमिक महिला आपतकालिन आवास गृहमा गएर बसे । उनि निशब्द भईन । 

म उनको नजिक गएर बोलाएँ । पुन ःबोलाएपछि झस्कदै मपट्टि फर्केर बोल्दै गइन् । ΄भदौको झमझम झरीसंगै खेतका हरिया धानहरु झरीसंगै मस्त थिए, भ्यागुताहरुको ट्वारट्वार आवाजसंगै भगवानले मेरो पुकार सुनेर दिनको बिहानी पख मलाई सुन्दर छोरी दिनुभयो’ । जिम्मा लिने भरपर्दो संस्था नहुदा छोरीलाई प्रहरी तथा अस्पतालको समन्वयमा बच्चा नभएको परिवारलाई दान दिएँ । 
  

मैले उनलाई हेरिरहे एकछिन् , उनि एक्लै टोलाईरहेकी थिइन, म चुपचाप बसिरहे, एकछिन पछि उनले म तिर हेर्दै भनिन् ,΄केही समयपछि परिवारको सल्लाहमा काठमाण्डौ सानीमाको घरमा आएँ, काठमाण्डौ आएको लामो समयपछि दाईको साथीको सहयोगमा टेलिकममा सेक्युरिटीको जागिर पाएँ । “म वास्तवमै भौतारिदै हिडेकी एक असफल यात्री हुँ ,असफल प्रेमी”। ΄यही हो एक असफल प्रेमिल यात्रीको कथा’ । 
 

बोल्ने, सम्झाउने शब्द थिएन मसंग । अनुहारमा चिटचिट पसिना आइरहेको थियो उनको । मैले उनलाई जिस्काउदै प्रेमको मायाँ लाग्दैन भन्दै सोध्दा झण्डै  चिथोरिनन् । माया होइन घृणा छ घृणा, प्रेम मात्र होइन पुरुष जातिसंग घृणा जन्मिएको छ–भन्छन् मान्छेहरु चोखो माया–चोखो मायाको नाटक सुन्न पनि सक्दिन म । लोग्ने मान्छे देख्दा मात्र भद« हो मौका नमिले सम्म । मौका मिल्यो भने बिजुलीको खम्बा पनि देख्नु हुदैन । आईमाई मान्छे धरती हुन, जे जे पोखियोस सहने हिम्मत हुन्छ, जे जे रोपियोस उम्रन दिने शक्ति हुन्छ ,उनले भनिन् । ΄एकछिन कटक्क दुख्यो मेरो मन पनि 

भबिष्यका लामा लामा सपनाहरुका तान लगाउँथे । उसको नाम र भबिष्य सोचिरहन्थे । अहिलेका जस्तो सबैका हातहातमा मोबाइल थिएन । मायाँ गर्छु ,बिबाह गर्छु ,सुखले पाल्छु ,तिम्रा , लागि ज्यानै दिन्छु भन्थ्यो, उनि विगत सम्झिन्छीन् । 


    उनको अनुहार माथि बादल हट्दै गइरहेको थियो, ΄बोल्दा बोल्दै बिचबिचमा आखाँ चिम्लिएर कता कता हराउथिन उनि । मैले उनलाई सम्झाउदै भने “तिमी महान छौ, तिमीलाई सलाम छ ,धिक्कार छ त्यो पापी पाखण्डी प्रेमीलाई” । सबै पुरुष प्रेम जस्ता र सबै नारी तिमी जस्ता पनि छैनन् । धेरै पे्रमिल जोडीको सम्बन्धहरु सफल भएका उदारण पनि छन् । सबै पुरुष एउटै हुदैनन तर कोही एक, दुई जनाको चक्करमा सबैलाई धोकेबाज भन्नु पक्कै पनि उचित हुदैन । कसैका लागि यही प्रेम जीवन जिउने “जरिया” बनेको छ ।     लामो कुराकानी भए, समय धेरै घर्किसकेको थियो । साझ पर्न लागेको थियो, हामी फेरि भेट्ने बाचा गदै डेरा तर्फ फर्कियौ । 


    आरुबखडाको सिजनले उनको विगतलाई सम्झाइदियो । छटपटि भइरह्यो, अबेर सम्म निन्द्रा लागेन, उनको ठाउँमा एकपटक आफुलाई राखेर हेरे । कहाली लाग्यो, सोच्नै सकिन, मनमनै आफुले आफुलाई धेरै प्रश्न गरे र सोध्न मन लाग्यो, अपबाद बाहेक कहाँ छ नेपालको खोज पत्रकारिता ? समाजमा घट्ने यस्ता घटनालाई बाहिर ल्याउने पत्रकारिताको कर्तब्य हो कि होइन ? वा पत्रकारिताको धर्मले दिदैन ? कहाँ छन् नेपालका महिला अधिकारकर्मी ? आफु रगतको आहालमा डुबेर सन्तानको हत्या कहिले सम्म गर्ने ? कहिले सम्म मन्दिरमा दान दिए झै आफ्ना सन्तानलाई दान दिनुपर्ने ? सरकारले के, कति न्यायोचित काम गरिरहेको छ ? यस्ता महिलाका लागि ? यि सबै प्रश्नको उत्तर न त सरकारले दिन सक्छ , न त अदालतले नै !!!