|  

विश्वकप छनोटमा भारतको पहिलो जित

२५ जेठ, काठमाडौँ ।  भेट्रान फरवार्ड तथा कप्तान सुनिल क्षेत्रीको दुई गोल मद्दतमा भारतले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोटमा पहिलो जित दर्ता गरेको छ ।


दोहास्थित जसिम विन हमाद स्टेडियममा सोमबार राति भएको खेलमा भारतले बंगलादेशलाई २–० ले पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दा एसियन कपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । छनोटमा भारतको यो पहिलो जित हो । ३ खेलमा हार बेहोरेको भारतले ३ खेलमा बराबरीको नतिजा निकालेको थियो ।

बंगलदेशलाई खेलको शुरुवातदेखि नै दवावमा राखेपनि भारतले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बंगलादेशको रक्षापङ्ति निकै व्यस्त बनेको थियो । ७९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले हेडमार्फत गोल गर्दै गोलको खाता खोले । आशिकि कुरुनियानको क्रसलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका उनले हेडमार्फत गोल गर्न सफल भएका थिए ।


९०औं मिनेटमा सुनिल क्षेत्रीले सुरेश सिंहको पासमा पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै भारतको जित पक्का गरे विश्वकप र एसियन छनोटमा उनको यो दोस्रो गोल हो । भारतको सर्वाधिक गोलकर्ता रहेका उनले यो गोलसँगै आफ्नो गोलसङ्ख्या ७४ पुर्‍याएको छ ।