|  

२५ सदस्यीय बन्यो मन्त्रिपरिषद्

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् विस्तार गरिएको जानकारी दिएको हो।

 जेठ २१ मा मन्त्रिपरिषद् पुनर्गठन गरेका ओलीले एक साता नबित्दै मन्त्रिपरिषद् विस्तारका लागि सिफारिस गरेका हुन्। नयाँ विस्तारसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ। संविधानमा नेपालको संघीय मन्त्रिपरिषद् अधिकतम २५ सदस्यीय मात्र हुने व्यवस्था छ। योसँगै ओलीलाई अब नयाँ मन्त्री थप गर्ने सुविधा नहुने भएको छ। अब पुराना मन्त्री हटाएर मात्र नयाँ थप गर्नुपर्ने भएको छ। 

नारदमुनि राना वनमन्त्री, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सूचना तथा सञ्चारमन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बनेका छन्। 

नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम बिहीबार साँझ गर्ने राष्ट्रपति कार्यालयको तयारी छ।