|  

विश्वकप छनोट खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

२८ जेष्ठ काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज शुक्रबारअष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।तर, नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताउँछन् ।

यस्तै प्रशिक्षक आर्नोल्डले नेपालविरुद्धको खेलमा सुरुवाती–११ मा परिवर्तन हुने समेत बताए ।समूह बी मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ ।

शुक्रबार नेपाल र अष्ट्रेलियाबीचको दोस्रो भेट हुनेछ । नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो ।