|  

कञ्चनपुरमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन हुने

२८ जेठ, काठमाडौ कञ्चनपुरका सामुदायिक र संस्थागत विद्यालयमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर तीव्ररूपमा फैलिरहेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएपछि आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्न लागिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नतिजा तयार गर्ने कार्य अगाडि बढाएका छन । 

जिल्लाका नौ वटै स्थानीय तहमा रहेका विद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारीमा जुटेका हुन् । “आधारभूत तहको कक्षा १ देखि ३ मा उदार कक्षा उन्नतिको आधारमा नतिजा प्रकाशनको तयारी गरिएको छ”, शुक्लाफाँटा शिक्षा शाखाका प्रमुख टिकेन्द्रप्रसाद भट्टले भन्नुभयो, “कक्षा ४ देखि ५ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ५० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ५० प्रतिशतलाई आधार बनाई नतिजा प्रकाशन गरिने छ ।”

उहाँका अनुसार कक्षा ६ देखि ७ मा शैक्षिक सत्र २०७७ मा लिइएको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा ६० प्रतिशत र निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा ४० प्रतिशतका आधारमा नतिजा तयार गरिने छ ।
 
कक्षा ८ मा शैक्षिक सत्र २०७७ मा विद्यालयले सञ्चालन गरेको पहिलो र दोस्रो त्रैमासिक परीक्षाको सैद्धान्तिकतर्फ ८० प्रतिशत मूल्याङ्कन र विषय शिक्षकको २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा तयार गरिने छ । 
कक्षा ८ को प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क सम्बन्धित विद्यालयको एक्सल वेस्ट एचिभमेन्ट फाइलमा प्रविष्ट गरी २०७८ जेठ मसान्तसम्म अपलोड गर्नका लागि सम्बन्धित शिक्षा शाखाका प्रमुखले विद्यालयलाई जानकारी गराएका छन् ।