|  

दाइजो नदिएको भन्दै  २१ वर्षीया अमृता साह लाई कुटपिट गरेको आरोपमा श्रीमान र ससुरा पक्राउ

२८ जेठ, काठमाडौँ । दाइजो नदिएको झोंकमा कुटपिट गरेको आरोपपछि सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पीडितका श्रीमान हरिपुर्वा नगरपालिका वडा नम्बर २ का जोगनारायण साह र ससुरा अनुपा साहलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

गत वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया अमृता साह (पीडित) को जातीय परम्परा अनुसार जोगनारायणसँग विवाह भएको थियो।

तर विवाहको केही समय नबित्दै दाइजो नदिएको भन्दै श्रीमानसहित घरका अन्य सदस्यहरूले अमृतामाथि कुटपिट गरेका थिए। अमृता घाइते भएकी थिइन्। 

घाइते भएकी अमृताले दाइजो सम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएकी थिइन्। जाहेरी दिएपछि घटनामा संलग्न पीडितका श्रीमान र ससुरालाई प्रहरीले शुक्रबार पक्राउ गरेको डिएसपी कुँवरले बताए।


सर्लाही जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिइ थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।