|  

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण

२९ जेठ, काठमाडौँ । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।सो आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको उनले बताए ।