|  

कोभिड–१९ को असर : केबुलकारको काम प्रभावित बन्दै

२९ जेठ, काठमाडौँ । बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ । कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित भएको हो । 

आगामी दशैँभित्रमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनासहित निर्माण कार्य थालिएपनि उक्त अवधिमा संञ्चालनमा ल्याउन कठिनाइ देखिएको छ । 

भारतबाट अधिकांश सामान आइसके पनि अष्ट्रियाबाट इन्जिनीयर, रोपवे र इन्जिनहरु ल्याउन नसकिएकाले निर्माण कार्यमा ढिलाइ हुने देखिएको बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । 

दैनिक करीब तीन सय जना कामदारले काम गर्दै आएपनि बन्दाबन्दीका कारण अहिले सय जनाले काम गरेको उहाँले बताउनुभयो । 
कामले गति लिइरहेको बेला गतवर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएकामा यसवर्षको कोरोनाले पनि असर परेको अध्यक्ष शर्माले बताउनुभयो । 

परियोजनाको निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने टावर निर्माण गर्ने मेकानिकल इन्जिनीयर नहुँदा काम प्रभावित बनेको छ । परियोजनाको काम सम्पन्न गर्न कम्तिमा छ महिना लाग्न सक्ने अनुमान गरिएकाले दशैमा संञ्चालनार्थ कठिनाइ देखिएको कार्यकारी संञ्चालक कृष्णराज अधिकारीले बताउनुभयो । बन्दीपुर गाउँपालिका–४ को ठूल्ढुङ्गामा तल्लो स्टेशनको लागि तीन÷चार महिना लाग्ने भएपनि र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशनको निर्माण कार्य बल्ल शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 
 
परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीयबासीको लगानी १४ प्रतिशत रहेको छ । करीब ७०० स्थानीयलाई शेयर प्रदान गरिएको छ । उनीहरुको करीब रु।१५÷१६ करोड लगानी रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।