|  

५ पूर्वप्रमहरुले भने– ओलीबाट संविधानमाथि एकपछि अर्को प्रहार, कानुनी शासनमाथि घात

२९ जेठ, काठमाडौँ । ५ जना पूर्वप्रधानमन्त्रीहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरी संविधान र कानुनी शासनमाथि प्रहार गरेको आरोप लगाएका छन्। शनिबार पाँचै जना पूर्वप्रधानमन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार भएको आरोप लगाएका हुन्। 

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरेका हुन्। 

'प्रधानमन्त्री केपी ओलीबाट निरन्तर एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने कार्य भइरहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै ओलीबाट घात गरिएको छ।'

गत पुष महिनामा प्रतिनिधि सभा विघटन गरेपनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको अवस्थामा पुनः दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांगो पारेको पूर्वप्रधानमन्त्रीहरूले बताएका छन्। 

प्रधानमन्त्री केपी ओली कामचलाउ भइसकेको अवस्थामा अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रमझै, प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने, संविधान संशोधन गर्न सहमति गर्ने, पटकपटक मनपरी रूपमा मन्त्रिपरिषद् विस्तार गर्ने गरेको उनीहरुको आरोप छ। यस्तै नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने,  सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता काम पनि ओलीको संलग्नतामा भएको भन्दै उनीहरूले ओलीको भर्त्सना गरेका छन्।

प्रधानमन्त्री ओलीबाट नेपालमा संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरुमाथि निरंकुश हमला भएको भन्दै ऐक्यबद्धता जनाउन सबैमा आग्रह गरेका छन्।