|  

सुसंस्कृत राजनीतिको अधुरो सपना पुरा गरेरै छाड्छाैँ उज्ज्वल दाइ !

१ असार, काठमाडौं । मेरो पुस्ताको हरेक व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुरानो राजनीतिक मायाजालबाट टाढिन सक्दैनथ्यो, किन भने पञ्चायती व्यवस्थाको अन्त्यसँगै उदाएको बहुदलीय व्यवस्थाले समाजका हरेक तह र तप्कालाई राजनीतिक रूपले यसरी च्यापेको थियो की हरेक पारिवारिक र सामाजिक व्यवहार स्वतन्त्र व्यक्ति भएर गर्न असम्भव बनाइसकेको थियोे । म पनि कुनै समय पुरानै राजनीतिक विश्वाससँग आवद्ध  थिए ।

यद्यपि खुला रूपमा वैकल्पिक शक्तिको बहस हुनुभन्दा अगाडि नै पुराना राजनीतिक संस्कार र संरचनाबाट समाज र देशको मुहार फेर्न असम्भव छ भन्ने निष्कर्ष निकाल्दै व्यक्तिगत रूपले म उद्यमी बन्दै समाजसेवालाई पनि सँग–सँगै अगाडि बढाउने निष्कर्ष सहित पुरानो राजनीतिक संस्कार र संरचनाबाट निष्क्रिय भइसकेको थिएँ । 


सकभर जिम्मेवारी लिन नहतारिने तर जिम्मेवारी लिइसकेपछि महशुस हुनेगरी  परिणाम दिएरै छाड्नुपर्छ र त्यसका लागि कुरा कम, काम बढी गर्नुपर्छ भन्ने उदाहरण मेरो वुद्धी र बर्कतले भ्याएसम्म रारा समाजमा पेस गरिसकेको थिएँ । स्वतन्त्र बसेर पनि समाजमा योगदान गर्न सकिन्छ भन्ने विश्वास म मा झाङ्गिदै थियो । उतातिर  देश स्थानीय निर्वाचन सकेर संघीय निर्वाचनमा होमिएको थियोे ।

स्थानीय निर्वाचनमा तत्कालीन विवेकशील नेपाली दलले युवालाई मेयरमा उठाएर र तत्कालीन साझा पार्टीले किशोर थापा जस्तो अनुभव, सक्षम र इमानको प्रतिमुर्तिलाई मेयरमा उठाएर वैकल्पिक राजनीतिको विश्वासमा विजारोपण गराइसकेको थियो । स्थानीय चुनावपछि दुवैै दलबीच एकता पनि भइसकेको थियो । चुनावी माहोल प्रदेश र संघीय चुनावमा केन्द्रित थियोे ।

शुभेच्छुक र साथी–भाइहरूको सल्लाहमा एक पटक विवेकशील साझापार्टीको चप्पल कारखानामा गएर हाम्रो पनि नैतिक समर्थन जनाउने भन्ने निष्कर्ष सहित म केही साथीहरू सहित चप्पल कारखाना गएको थिएँ । उज्ज्वल दाईसँग सोहि दिन मेरो परिचय भयो । केही दिनको औपचारिक र अनौपचारिक कुराकानी हुँदाहुँदै उहाँले मलाई एकाविहानै विहानै फोन गरेर भन्नुभयो रामहरि जी, मैले चुनाव उठ्ने निर्णय गरिसकेँ थाहा पाइहाल्नु भो तपाईंसँगको अनुभव र क्षमता एकपटक युवापुस्ताको लागि, सुसंस्कृत राजनीतिको लागि, विकास र समृद्धिका लागि चाहियो तपाईं पनि चुनावमा उठेर मेरो पार्टनर बन्नपर्यो । मनमनै दङ्ग परेँ कस्तो पार्टी होला ? टिकटमा हानाथाप परेको देखेको र सुनेको मलाई पार्टी अध्यक्षले फोन गरेर चुनावमा उठ्दिनुपर्यो भन्छन् तर मैले तत्कालै उत्तर चाँहि दिइहालेँ  एक चरणको सरसल्लाह गरेर खबर गर्छु भनेँ र फोन राखेँ । 

परिवार, छरछिमेक, समाज र चिनेजानेका साथीहरूसँगको छलफलपछि युवापुस्ता, सुसंस्कृत राजनीति, विकास र समृद्धिका लागि एकपटक नालीमै हाम फालेर नाली सफा गर्ने निष्कर्ष निकालेँ र उज्ज्वल दाईलाई फोन हानेँ । तपाईंको प्रस्तावमा म सकरात्मक छु । उहाँले प्रश्न गर्नुभयो सकरात्मक मात्रै कि उठ्ने नै ? मैले भनेँ उठ्ने नै । उहाँले भन्नुभयो ल भोट माग्न थाल्नोस, अफिस पनि आउनु टिम बनाएर घरदैलो जानुपर्छ    अब । प्रक्रिया अगाडि बढ्यो । घरदैलोमा उज्ज्वल दाइसँग कति हिँडियो हिँडियो । सधैं भन्नुहुन्थ्यो, चुनावलाई प्रेसरमा नलिनु, “टेक इट एज अ फन, इट इज अ काइण्ड अफ जोय” मत जित्नेगरि आउला नआउला फरक कुरा पहिला जनताको मनमा बस्नुपर्छ रामहरि जी । थकित भएको बेला उहाँका यी दुई वाक्यले थप उर्जा भरिन्थ्यो । 

उहाँ सँगको अविस्मरणीय भलाकुसारीका पाटाहरू आगामी दिनमा खोल्दै जाऔला नै। यतिबेला मन भारी भएको छ । समाचारहरू सत्य नभईदिए पनि हुने नि जस्तो लाग्छ । मन मष्तिस्कले अझै पत्याएको छैन । तर वास्तविकता भौतिक शरीर छाडेको आज १५ दिन     भइसक्यो ।  भौतिक रूपले  उज्ज्वल दाइ हामी माझ हुनुहुन्न र कहिल्यै आउनुहुन्न अब । उहाँ प्रतिको काठमाडौं क्षेत्र ५ का सम्पूर्ण आमाबाबु, दाजुभाइ तथा दिदिबहिनीहरूको अपार माया, साथ, सहयोग र सदभावप्रति म तत्कालीन प्रदेश सभा उम्मेदवारको हैसियतले स–धन्यवाद ज्ञापन गर्दछु । तपाईं हामी सबै मिलेर उहाँको सुसंस्कृत राजनीतिको स्वर्णिम सपना पूरा गरेरै छाड्ने हो । 


अन्तमा, म फेरिपनि काठमाडौं क्षेत्र ५ का सम्पूर्ण आमाबाबु, दाजुभाइ तथा दिदिबहिनीहरूलाई भन्न चाहान्छु, वैकल्पिक राजनीतिप्रतिको विश्वासमा धेर्य गर्नोस्  सुसंस्कृत राजनीतिलाई मुलधारको राजनीतिमा स्थापित गराएरै छाड्छौँ । परिवर्तन गरेरै छाड्ने हो,  समृद्धि हेरेरै मर्ने हो । परिवर्तन हाम्रै जीवनकालमा । 

लेखक- रामहरि अधिकारी 
काठमाडौं क्षेत्र नं ५ (क) तत्कालीन प्रदेशसभा उम्मेदवार, विवेकशील साझा पार्टी