|  

विश्वमा नम्बर १ बन्न यस्तो छ चीनका राष्ट्रपतिको आगामी योजना 

२३ असार, काठाडौं । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले सय वर्षमा गरेको उपलब्धि र आगामी बाटोबारे जानकारी गराएका छन् । 

मंगलबार साँझ नेपालसहित १ सय ६० भन्दा बढी मुलुकका करिब ५ सय राजनीतिक पार्टीका नेताहरूको भर्चुअल सम्मेलन गरेर सीपीसीका महासचिवसमेत रहेका सीले यस्तो बताएका हुन् ।

सम्मेलनमा उनले राजनीतिक दलहरू जनउत्तरदायी हुनुपर्ने र मानव जातिको हितमा काम गर्नुपर्ने उल्लेख गरेका थिए । सीपीसीको शतवार्षिकीका अवसरमा सीले ‘जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक पार्टीको कार्यभार’ भन्ने विषयमा सम्बोधन गरेका हुन् ।

उनले सम्बोधनमार्फत सीपीसीका उपलब्धि जानकारी दिँदै आफ्नो लक्ष्यबारे सन्देश दिन खोजेका थिए । उनले आफूले हिँड्ने बाटोमा साथ लाग्न घुमाउरो तरिकाबाट अरूलाई आह्वान गरे । चीन विश्वभरबाट सहयोग प्राप्त गरेर विश्वशक्ति बन्ने अभियानमा छ । त्यसको झल्को सीको सम्बोधनमा झल्किएको छ ।


सीले असार १७ गते बेइजिङको तियाननमेन स्क्वायरमा आयोजित समारोहमा चीन कुनै पनि मुलुकले आफूमाथि गर्ने हेपाहा प्रवृत्तिको सामना गर्ने चेतावनी दिएका थिए ।

उनको उक्त सन्देश पश्चिमा मुलुकहरूप्रति लक्षित थियो । सीले मंगलबार भने विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । भर्चुअल सम्मेलनमा नेपालबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपालगायत राजनीतिक दलका टोलीहरू सहभागी भएका थिए ।

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले सीले मंगलबारको सम्मेलनमार्फत सीपीसीको सयवर्षे उपलब्धिबारे सबैलाई जानकारी दिन खोजेको बताए ।

‘चीनले अन्य मुलुकको जस्तो साम्राज्य गर्दैन, दुवैलाई सफलता मिल्ने गरी अर्थात् विन–विन तरिकाबाट अघि बढ्न चाहन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ,’ उनले भने, ‘द्विपक्षीय रूपमा मिलेर काम गर्दै अघि बढ्न सकिन्छ भन्ने सोच चीनको छ । भविष्यको कुरा थाहा छैन, तर अहिले चीनले अन्य मुलुकले जस्तो ऋण वा अन्य कारणले अरूलाई तारोमा पार्न चाहँदैन ।’

कार्कीले चीन पहिलेको सोभियत युनियनजस्तो कमजोर धरातलमा नउभिएको प्रस्ट पारे । ‘सोभियत युनियनले हतियार र सुरक्षामा बढी जोड दिएको थियो । अहिले चीन आर्थिक वृद्धि, विकाससहित सुरक्षा र हतियारलगायत क्षेत्रमा ध्यान दिएर सँगसँगै अघि बढिरहेको छ,’ उनले भने ।

प्राध्यापक तथा भूराजनीतिक जानकार श्रीधर खत्री भने चीनका राष्ट्रपति सीले सम्मेलनमार्फत ‘सी विचारधारा’ लाई विश्वभर फैलाउन चाहेको बताउँछन् । ‘सी विचारधारालाई विश्वभर फैलाउन पहल भएको देखिन्छ,’ उनले भने, ‘सीले अब चीनले विश्वको नेतृत्व लिन सक्छ भन्ने सन्देश पनि दिन कार्यक्रम गरेको हुनुपर्छ ।’


परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक तथा भूराजनीतिक जानकार रूपक सापकोटाका अनुसार सीले भर्चुअल सम्मेलनमार्फत चीनमा सीसीपीले नेतृत्व गरेपछि भएको आर्थिक वृद्धि, पूर्वाधार विकास, आन्तरिक राजनीतिक सफलता तथा विश्व राजनीतिमा चीनको उदयबारे जानकारी दिन खोजेका छन् ।

‘सम्मेलनको अर्को सन्देश भने अमेरिकी नेतृत्वमा पश्चिमाबाट भइरहेको घेराबन्दीलाई रोक्न विश्वभरका जुनसुकै शासन प्रणाली भएका सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूसँग चीनले सहकार्य गर्न खोजिरहेको छ भन्ने हो । ‘पश्चिमा मुलुकले घेराबन्दी गरिरहेका छन् तर चीनले त्यसलाई प्रतिकार गर्न तयारी गरेको पनि देखिन्छ,’ उनले भने ।


कूटनीतिज्ञ दिनेश भट्टराई चीन पश्चिमाहरूले भन्दा फरक रूपमा अघि बढ्न खोजेको ठान्छन् । ‘चीनले आर्थिक विकास र पूर्वाधार विकासलाई जोड दिन्छ । तर पश्चिमाले जनताको व्यक्तिगत पक्षलाई ध्यान दिन्छन्,’ उनले भने, ‘देश बलियो भए मात्र व्यक्ति बलियो हुन्छ भन्ने चीनको भनाइ हो ।’


सम्मेलनमा सीले विकास विश्वमा केही मुलुकको विशेष अधिकार नभएको उल्लेख गर्दै राजनीतिक पार्टीले विभिन्न मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै जानुपर्ने बताएका थिए । उनले प्रविधिको नाकाबन्दी, वैज्ञानिक प्रविधिको अन्तर, विकासबाट अलग्याउने कुरामा संयुक्त विरोध गर्नुपर्नेमा जोड दिए ।


सीले राजनीतिक दलहरूको सहकार्यलाई सुदृढ पार्दै विश्वव्यापी जोखिम र चुनौतीलाई मिलेर सामना गर्नुपर्ने उल्लेख गरेका थिए ।

उनले चीन सधैं विकासोन्मुख मुलुकमध्ये एक भएको र अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणालीमा विकासोन्मुख मुलुकको प्रतिनिधित्व र आवाजलाई उकास्न निरन्तर प्रयास गरिरहने बताएका थिए ।