|  

ग्राहक पहिचान विवरण सम्बन्धी सिस्टम लागू गर्दै–नेपाल दूरसञ्चार प्राधिकरण

५ साउन, काठमाडौँ ।  सिमकार्ड लिन अब नागरिकता र फोटो बोकेर हिँड्नु नपर्ने भएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकता बोकेर सेवाप्रदायकको कार्यालयमा सिमकार्ड लिन जानु पर्ने व्यवस्थाको अन्त्य गर्ने भएसँगै अब यस्तो नियम हट्ने भएको हो । त्यसका लागि प्राधिकरणले डिजिटल केवाईसी नो योर कस्टमर अर्थात ग्राहक पहिचान विवरण सम्बन्धी सिस्टम लागू गर्ने भएको छ ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत उक्त कार्यक्रम तय गरेको हो । जसमा प्राधिकरणले चालु आवको अन्त्यसम्म डिजिटल केवाईसी सिस्टम कार्यान्व्यनमा ल्याउने जनाएको छ । त्यसका लागि प्राधिकरणले ४० करोड बजेट छुट्याएको छ । प्राधिकरणका सहप्रवक्ता अच्चुतानन्द मिश्रले ‘विशेषगरी यो सिस्टम राष्ट्रिय परिचयपत्रसँग जोडिने जानकारी दिए । यसबाट दूरसञ्चार सेवाप्रदायकको ग्राहक पहिचान गर्न, ग्राहकले लिएका विभिन्न सेवाको पहिचान गर्नसमेत मद्धत पुग्ने उनको भनाइ छ ।

साथै कुन ग्राहकले हालसम्म कुन सेवाप्रदायकको कति वटा सिमकार्ड लिएका छन् भन्ने विवरण पनि यो प्रणालीबाट थाहा पाउन सकिने जनाइएको छ ।