|  

नेपथ्यका ‘प्रभावशालीपत्रकार,’ एक पूर्वसचिव

नेपालसरकारका एक पूर्वसचिव जो बाध्यताले होईन, स्वईच्छा र रहरले आफ्नो व्यक्तिगत सामाजिकसञ्जालको खाताबाट सूचना प्रवाह गरिरहेका छन् । त्यो पनि व्यवसायिक पत्रकारिता गर्नेलाई माथ खुवाउने गरी । उनी चौबीसैघण्टा अनलाईनमा हुन्छन् र देश तथा विदेशभित्रका घटनाक्रममा ताजकीकरण भईरहन्छन् । यतिका पृष्ठभूमिबाट जो कोहीले पनि अन्दाज लगाउन सक्दछन्, उनी को हुन् भनेर ।

उनी हुन्, नेपालसरकारका पूर्वसचिव भीमप्रसाद उपाध्याय । सामाजिकसञ्जाल फेसबूकमा उनको श्लोक नै छ, ‘सत्य–तथ्य आँकडायुक्त जानकारीको बमबारीः गुल्मीमा जन्मेको, भैरहवामा हुर्केबढेको, निवृत्तजीवन ललितपुरमा ।’


खानेपानी तथा सरसफाईमन्त्रालयका सचिवबाट अनिवार्य अवकाश पाएका पूर्वसचिव भीमप्रसाद उपाध्याय एउटा यस्ता पात्र हुन्, जो सेवानिवृत्तपछि पनि सार्वजानिकजीवन व्यतित गरिरहेका छन् । प्रायःजसो नेपालसरकारको विशिष्ट श्रेणीबाट अवकाश पाएका पूर्वकर्मचारी निवृत्तजीवनमा सार्वजनिकजीवन बिताउन चाहँदैनन् । खासगरी ‘ठालूप्रवृत्ति’मा रम्ने र सबैले धेरैभन्दा धेरै इज्जत दिउन् भन्ने मनोविज्ञानबाट चल्ने हुन्छन् । जहीँतहीँ वा सामाजिकसञ्जालमा कममात्रै उपस्थित हुने, सानोतिनो वा हल्का टिप्पणी नगर्ने, विचार नपोख्ने तथा विवादमा पर्न अचाहने आम मनोविज्ञानतामा पूर्वसचिव उपाध्याय फरक अध्ययनको विषय बन्न पुगेका छन् । यो टिप्पणीकारले पूर्वसचिव उपाध्यायको प्रवृत्तिलाई समर्थन गर्दै अरु आम पूर्वकर्मचारीको मनोविज्ञानलाई विरोध वा समर्थन गर्न नसक्ने अर्थमा लिएको भने होईन । खाली समाजिक मनोविज्ञान र प्रवृत्तिलाई जस्ताको तस्तै चित्रण गर्नमात्रै खोजिएको हो ।

हुनतः सेवा निवृत्त भईसकेपछि पनि पूर्वविशिष्टश्रेणीको मर्यादा र गरिमा निरन्तर कायम हुने भन्दै कतिपयलाई पूर्वसचिव भीमप्रसाद उपाध्यायको व्यवहार वास्तवमै अपाच्यखालको रहेको धारणा व्यक्त गर्दछन् । उनको हल्काखालको टिप्पणी र प्रस्तुतिले पूर्वसचिवको इज्जतलाई गिज्याईरहेको बताउँछन् । कतिपयले पूर्वसचिवको ओहदालाई उपाध्यायले धान्न नसकेको पनि बताउँछन् । यद्यपि धेरै मानिसहरु उनको सार्वजनिक विचार र पारदर्शी कटाक्षको नतमस्तक पनि धेरै नै छन् । उनलाई सामाजिकसञ्जालमा पछ्याउनेको सङ्ख्या नै सामान्यतया नेताको भन्दा धेरै छ । उनको सामाजिकसञ्जाल फेसबूकमा फलोअरको सङ्ख्या डेढलाखको हाराहारीमा छ । 

उनको यो फलोअर सङ्ख्या कर्मचारीहरुलाई जनताले पछ्याउनेको सङ्ख्यामा धेरै नै मानिन्छ । त्यस्तै उनले औंल्याएपछि भएका विसङ्गति एवम् विकासनिर्माणका गतिरोधले फुकुवा हुने तथा सच्याउने क्रमसमेत पछिल्लोसमय ह्वात्तै बढेको छ । विकासनिर्माणका कार्यलाई अधुरो बनाई तथा कमसल कार्यलाई उनले सामाजिकसञ्जालमार्फत औंल्याउँदा त्यसको तुरन्तै प्रतिक्रिया तथा सुधारात्मक कदम चालिन थालेका छन । उनको सामाजिकसञ्जालमा सक्रियता यतिबिध्न धेरै हुन्छ कि, व्यवसायिक पत्रकारिकता गर्ने पत्रकारसमेत उनको ताजकीकरणको अगाडि कतिपय घटनाक्रम र विषयवस्तुमा पछाडि पर्दछन् । कतिपय विचार पोख्ने र विकासनिर्माण सरोकारका खबरदारीमा उनको सक्रियताको अगाडि पत्रकारहरुसमेत निरीह सावित हुन पुग्दछन् । 

कुनैबेला माओवादीनिकट रहेको आरोप लागेका पूर्वसचिव उपाध्याय पछिल्लोसमय अध्यात्म र हिन्दूत्वप्रति गहिरो रुचि राख्दछन् । उनले आफ्नो आलोचकहरुलाई अचुक रामवाण प्रतिक्रियामार्फत प्रहार गर्दछन् । उद्यपि उनी विशेषगरी नेकपा कार्यकर्ताहरुद्वारा तल्लोस्तरका टिप्पणीका शिकार बन्दै पनि आएका छन् ।   

मुख्यतः ओलीसरकारविरुद्ध आक्रमक तथा कटाक्षपूर्ण तरिकाले सामाजिकसञ्जालमा विचार पोख्दै आएको महशुस हुन्छ । यद्यपि विगत महिनामा यसखालको विचारलाई तीब्रता दिएपनि हाल अलि सेलाएर गएको बुझिन्छ ।

सरकारविरुद्ध आक्रमक विचार पोख्दै आएका पूर्वसचिव उपाध्याय केही महिनाअघि बैशाख ११ मा पक्राउ परेका थिए । नेपाल प्रहरीको साइबर ब्यूरोले राती ललितपुरस्थित आफ्नै घरबाट पूर्वसचिव उपाध्यायलाई पक्राउ गरेको थियो ।

फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको भएतापनि कतिपयले सरकारविरुद्ध खनिए वापत रीस साध्न पक्राउ परेको बताउँछन् । उनीविरुद्ध साइबर अपराधको कसूरमा मुद्दा दायर भएपनि २५ हजार धरौटीमा रिहा भएका छन् ।

यद्यपि ‘भीम उपाध्यायको गिरफ्तारीले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता नरहेको थप पुष्टी गरेको’ भनी, टिप्पणी भएको थियो । त्यसताका नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले त फेसबूकमा ‘भीम उपाध्यायको गिरफ्तारीले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता नरहेको थप पुष्टी गरेको’ छ । सचिव, मन्त्री र प्रधानमन्त्रीले आलोचना नसहने र गाली वा कटु वचनहरुप्रति यति हदसम्म असहिष्णु भएर विद्युतीयकारोबार ऐनको दुरुपयोग गर्दै एउटा नागरिकलाई गिरफ्तार गर्नु घोर निन्दनीय छ,’ भनेका छन् ।

पूर्वसचिव उपाध्याय पक्राउ पर्नु केही समयअघि मेडिकल सामग्री खरिद विवादमा उपाध्याय र स्वास्थ्यमन्त्रालयका सचिव यादव कोईरालाबीच ट्वीटरमा दोहोरी नै चलेको थियो । मेडिकल सामग्री खरिद विवादमा स्वास्थ्यसचिव कोईराला र मन्त्रीहरु बर्खास्त हुनसक्ने भन्दै उपाध्यायले लेखेपछि कोईरालाले उनलाई ‘अपराधी’ नै भनेका थिए ।



यद्यपि पूर्वसचिव उपाध्यायलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले साइबर सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री प्रकाशन गरेका आधारमा मुद्धा चलाइएको बताएका थिए । उनीविरुद्ध दुई जनाको उजुरी परेको थियो । 

साइबर अपराधमा पक्राउ पर्ने उपाध्याय अहिलेसम्मकै सबैभन्दा हाइप्रोफाइल हुन् । पूर्वसचिवजस्तो ओहोदाको मान्छेले लगातार सरकारविरुद्ध लेखिरहेकाले अन्यलाई समेत ‘चुप लाग्न सन्देश दिन सरकारले उपाध्यायलाई पक्राउ गर्न निर्देशन दिएको हुन सक्ने सुरक्षा जानकारहरु बताउँथे ।