|  

आज थप खोप लिन वायुसेवा निगमको जहाज चीन जाँदै

६ साउन, काठमाडौँ । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज राति चीन जाँदैछ। 

चीनसँग खरिद गरिएको खोप लिन बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जहाजको क्षमता र नेपालमा खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता अनुसार पुन ८ लाख खोप लिन लागेको आपूर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले बताए।  

यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ छ। 

चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ। यसअघि खोप अभियान सञ्चालन हुन नसकेको प्रदेशमा पठाउने र अर्को चरणमा आएको खोप पुनः प्राथमिकताको आधारमा खोप अभियान सञ्चालन हुने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा। झलक शर्माले बताए।