|  

विद्युत उत्पादन कम्पनीका प्रमुख घिमिरेलाई काम गर्न रोक

६ साउन, काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक अनन्तराज घिमिरेलाई काम गर्न रोक लगाइएको छ ।

हिजो बसेको कम्पनीको सञ्चालक समिति बैठकले मध्यपश्चिम विश्वविद्यालयबाट आएको पत्रबारे स्पष्ट गर्न घिमिरेलाई १५ दिनको समय दिदै काममा रोक लगाएको हो । घिमिरेले दोहोरो सुविधा उपभोग गरेको देखिएको भन्दै विश्वविद्यालयले ऊर्जा सचिवलाई पत्र लेखेर नियुक्ति सम्बन्धमा आधिकारिक जानकारी गराइदिन भनेको थियो  ।

मध्यपश्चिम विश्वविद्यालयबाट अध्ययन विदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनीमा राजनीतिक नियुक्ति लिएको समाचार सार्वजनिक भएपछि घिमिरे निलम्बनमा परेका हुन् । अन्य विश्वविद्यालयबाट पनि विदा लिएर अन्यत्र जागिर खाइरहेका केही प्राध्यापकहरुको उदाहरण प्रस्तुत गर्दै घिमिरेले आफू योग्य भएको दावी सञ्चालक समितिमा पेश गरेका छन् ।

तर, सञ्चालकहरुले भने मध्यपश्चिम विश्वविद्यालयको नीति र घिमिरेले लिइरहेको हुनसक्ने सुविधाबारे चासो राखेपछि अर्को निर्णय नभएसम्म घिमिरेले प्रवन्ध सञ्चालकका हैसियतमा काम गर्न नपाउने गरी निर्णय भएको छ ।