|  

अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेज पनि ल्याउदै

६ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्ने गरी आर्थिक प्याकेजका लागि मन्त्रालयले तयारी गरिरहेको जानकारी दिएका छन् ।

आज नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने बताएका हुन् । कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सभ्भावनाको बाटो समेत देखाएको उनले बताए । कोभिडले आत्मनिर्भरताको बाटोतर्फ जान सिकाएको भन्दै मन्त्री शर्माले यो बेला निजी क्षेत्र र राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

शर्माले सरकारले आयात निरुत्साहित गर्दै निर्यातमा जोड दिने भन्दै त्यसका लागि प्रदेशस्तरमा साना उद्योग र त्यसलाई जोड्ने ठूला उद्योग निर्माण अबको प्राथमिकता भएको बताए ।