|  

सामुदायिक क्याम्पसमा २ वर्षसम्म निःशुल्क इन्टरनेट

६ साउन, काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरञ्चार प्राधिकरणले अब देशका सम्पूर्ण सामुदायिक क्याम्पसमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।

सरकारको नीतिगत निर्देशनका आधारमा प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत याे कार्यक्रम अघि बढाएको हो ।

यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको निर्देशनमा यो कार्यक्रम अघि सारिएकाे थियाे । गुरुङको निर्देशनमा पहिलो चरणमा प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका सामुदायिक विद्यालयबाट यसको प्रक्रिया अघि बढाएको थियो । तर, अब भने प्राधिकरणले आफ्नो बजेटमै समावेश गरेर देशका सबै सामुदायिक क्याम्पससम्म निःशुल्क इन्टरनेट दिने याेजना अघि बढाएको हो ।

त्यसका लागि प्राधिकरणले ७० करोडकाे बजेट पारित गरेको छ । जसमा सामुदायिक क्याम्पसका साथै सामुदायिक आधारभूत विद्यालयमा समेत इन्टरनेट उपलब्ध गराइने छ । त्यसरी उपलब्ध हुने इन्टरनेट दुई वर्षसम्मका लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिने उल्लेख छ ।

प्राधिकरणका अनुसार हाल भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका सामुदायिक क्याम्पससँग सम्झौताको काम भइरहेको छ । त्यसका लागि विश्वविद्यालयको सिफारिसमा कलेजले आवेदन दिनसक्ने जनाइएको छ ।