|  

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

७ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टीमा दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका छन् । बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा केही बेर समय दिएर बोलेका अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको जनाउँदै नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताउनुभएको हो ।

तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ, १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’

पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समते उहाँले बताउनुभयो । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उहाँले सुनाउनुभयो ।

ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताउनुभएको पनि यसबारे नेता नेपालको कुनै प्रतिक्रिया आएको छैन ।