|  

मानाजको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

 

७ साउन, काठमाडौँ ।  सब्सिच्युट फरवार्ड रे मानाजको ह्याट्रिक सहयोगमा बार्सिलोनाले प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ ।


बार्सिलोनाले १० खेलाडीमा समेटिएको तेस्रो डिभिजनको जिम्नास्टिकमाति ४–० को फराकिलो जित आत्मसात गरेको हो । सबै ४ गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

स्पेनमा बुधबार राति भएको खेलमा जिम्नास्टिकले बार्सिलोनालाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि पहिलो हाफकै अन्त्यतिर १० खेलाडीमा समेटिएपछि दोस्रो हाफमा बलियो बार्सिलोनालाई रोक्न सकेन ।


बार्सिलोनाले जिम्नास्टिक १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै गोल गर्न सफल भएको थियो । ३८औं मिनेटमा एलेक्स क्विन्टानिला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो । ६०औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

८५औं मिनेटमा एलेक्स कोल्लाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि रे मानाजले ८६औं र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकाल्न सफल भयो । मानाज ४६औं मिनेटमा जोर्डी स्कोवारको स्थानमा मैदान प्रवेश गरेका थिए ।