|  

एनआरएन अष्ट्रेलिया अध्यक्षका उम्मेद्वार रेग्मीमाथि आरोपै आरोप, गुरुङ बलियो

१३ साउन काठमाडौं । अष्ट्रेलियामा डेल्टा भेरियन्टको संक्रमण बढेपछि यतिबेला लकडाउनको अवस्था छ । यही लकडाउनका बीच आउँदो शनिबार एनआरएनए अस्ट्रेलियाको निर्वाचन हुन गइरहेको छ।

निर्वाचनलाई लिएर नेपालीहरुमाझ उम्मेदवारको बारेमा चर्चा परिचर्चा जारी छ । यस पटकको निर्वाचन रोचक हुने देखिएको छ । अध्यक्ष पदमा लोकतान्त्रिक समूहबाट नन्द गुरुङ र वामपन्थी गठबन्धनतर्फबाट ज्ञानेन्द्र रेग्मी प्रतिष्पर्धामा छन् । यस पटक रोचक त के छ भने बामपन्थी खेमाबाट प्रतिष्पर्धामा उत्रिएका रेग्मी वर्तमान कार्यसमितिका लोकतान्त्रिक समूहबाटै एनआरएनए अस्ट्रेलियाको महासचिवमा निर्वाचित भएका व्यक्ति हुन्। 

अघिल्लो कार्यकालमा उनी प्रवक्ताको जिम्मेवारीमा थिए, त्यो पनि लोकतान्त्रिक समूहबाटै । तर यसपटक लोकतान्त्रिक समूहबाट टिकट नपाएपछि उनी बामपन्थी कित्तामा गई अध्यक्षको प्रत्याशी बनेका हुन् ।  

लोकतान्त्रिक समूहबाट आगामी कार्यकालको निर्वाचनमा प्रतिस्पर्धा गर्न नन्द गुरुङ र ज्ञानेन्द्र रेग्मीसहित चार जनाले इच्छापत्र बुझाएर आन्तरिक प्रतिष्पर्धामा सामेल भएका थिए । लोकतान्त्रिक समूहले नन्द गुरुङलाई अध्यक्षको उम्मेदवार र ज्ञानेन्द्र रेग्मीलाई आइसीसीको ओसिनिया क्षेत्रीय संयोजकको रुपमा अगाडि सार्ने निर्णय गरेको थियो । तर रेग्मीले त्यसलाई अस्वीकार गर्दै बामपन्थी गठबन्धनको उम्मेदवार बन्न पुगेका हुन् । यसअघि बामपन्थी समूहबाट अध्यक्ष उम्मेदवारको रुपमा चर्चामा रहेका देव गुरुङलाई पुनः न्यू साउथ वेल्सको कोअर्डिनेटरमा थन्काइएको छ ।

रेग्मी बागाी बनेर बामपन्थी समूहको समर्थनमा समावेशी समूहको दाबी गर्दै चुनावी मैदानमा उत्रिएपनि प्रतिष्पर्धामा नन्द गुरुङनै अगाडि देखिएका छन् । रेग्मीको ढुलमुले चरित्र र अघिल्लो कार्यसमितिमा अवसर पाएर पनि क्षमता प्रदर्शन गर्न नसकेका कारण नतिजा उनको पक्षमा नआउने निश्चित प्रायः रहेको एनआरएनका अगुवाहरु बताउँछन् । त्यतिमात्रै होइन रेग्मी उम्मेदवार बनेको बामपन्थी समूह पनि यतिबेला एमालेभित्रको विभाजनकोसँगै बेमेलको अवस्थामा रहेको छ । एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपालगरी दुई खेमामा विभाजित भएकाले रेग्मीलाइ सिंगो बामपन्थीको भोट नजाने अनुमान गरिएको छ ।

आफुसंग भएको भोट वैंक समावेशी समुहका सवै उम्मेदवारहरुलाई पार्ने प्रतिवद्धता जनाएका रेग्मीले पछिल्ला दिनहरुमा आएर आफ्नै लागि मात्र भोट मागेका प्रमाणहरु भेटिएछि रेग्मीको रवैयावाट समावेशी समुह शशंकित वनेको छ । रेग्मीले विभिन्न राज्यका स्थानीय कांग्रेस नेताहरूलाई टेलिफोन गरि आफ्नो लागि मात्र मत मागेको, महासचिव लगायतका पदमा कांग्रेस समर्थितलाई नै आफ्नो सहयोग रहने गरेको लगायतका सूचना आफूलाई आएको र विगतकै अविश्सनिय रवैया अपनाएको समावेशी खेमाले आरोप लगाउन थालेका स्रोतले वताएको छ । 

यसैवीच, क्विन्सल्याण्ड राज्यका एक मतदाताले एनआरएन निर्वाचनका लागि मतदाता नामावली प्रयोजनमा मात्रै दर्ता भएको आफ्नो टेलिफोन नम्वर एनआरएन बोर्डवाटै लिक गरिएको प्रति उजुरी गरेका छन् । इञ्जिनियरिङ्ग पेशामा रहेका ति ब्यक्तिले एनआरएन निर्वाचनका लागि मतदाता फर्म भर्दा टेलिफोन नम्वर राख्नै पर्ने भएकाले नयाँ फोन नम्वर लिई त्यसलाई एनआरएनएमा नाम दर्ता गर्दा प्रयोग गरेक थिए । तर केही दिनअघि सो नम्वरवाट अध्यक्ष पदका उम्मेदवारले आफुलाई मतदान गर्न सोही नम्वरमा मेसेज पठाएपछि आफ्नो ब्यक्तिगत गोपनियताको हक एनआरन भित्रै वाट लिक गरिएकोमा अध्यक्ष केशव कँडेल समक्ष उजुरी गरेको सार्वजनिक भएसंगै यो विषयले अष्ट्रेलियाको नेपाली समाज आक्रोशित भएको छ । यदि एनआरएनएले यो विषय नसल्टाए आफु कानुनी उपचारमा समेत जाने ति ब्यक्तिले वताएका छन् ।

एनआरएएनएमा रेग्मीको विगतको ट्रयाक रेकर्ड पनि विवादित पाइएको छ । रेग्मीले विगतको दुई वर्ष कार्यकालमा कुनै काम नगरेको र सधै अध्यक्ष र अन्य पदाधिकारीसँग लडेर विताएको आरोप वर्तमान पदाधिकारीहरुको रहेको छ । संस्थाको महासचिव जस्तो जिम्मेवार पदमा बसेपनि एनआरएनएको कुनैपनि सामाजिक कार्यक्रममा सहयोग नरहेको गुनासो उनीहरूको छ । 

महासचिव जस्तो जिम्मेवार पदमा रहेपनि रेग्मीले अन्य पदाधिकारी तथा सदस्यहरुको फोन नउठाने, समयमा बैठक नडाक्ने, बैठकको माइन्यूटीङमा निर्णय विपरित आफ्नो स्वार्थ घुसाउने जस्ता क्रियाकलाप गरेर आजित पारेको वर्तमान पदाधिकाहरुको उनीमाथि आरोप लाग्दै आएको छ ।

त्यतिमात्रै होइन एनआरएनएले कोभिड– १९ को सुरुवातमा गरेको राहत वितरण, रिर्पाटेशन फ्लाइट र नेपालमा कन्सन्टेटर पठाउने कुनै पनि काममा रेग्मी सहभागी नभएको पनि उनीहरूको गुनासो रहेको छ । 

लोकतान्त्रिक समूहबाट अध्यक्षको उम्मेदवार बनेका नन्द गुरुङ अघिल्लो पटक पनि अध्यक्षको दाबेदार थिए । तर अन्तिम समयमा वर्तमान अध्यक्ष केशव कडेललाई उनले समर्थन गर्दै असल राजनीतिक चरित्र प्रदर्शन गरेका थिए । न्यू साउथ वेल्स राज्यको संयोजक रहीसकेका गुरुङ निकै सरल र एनआरएनए संस्थाप्रति प्रतिवद्ध समाजसेवीका रुपमा चिनिन्छन् ।

यस पटक पनि साउथ अष्ट्रेलिया, क्वीन्सल्याण्ड, तासमानिया, नर्दन टेरीटोरी र एसीटीमा लोकतान्त्रिक समूह निकै बलियो रहेको देखिन्छ भने सबैभन्दा ठूलो राज्य न्यू साउथ वेल्समा वर्तमान संयोजक देव गुरुङ र लोकतान्त्रिक समूहका तर्फबाट उम्मेदवार बनेकी प्रतिज्ञा अधिकारीबीच प्रतिष्पर्धा रहेको छ। 

प्रखर वक्ता र अनुभवी समाजसेवी महिला भएका कारण प्रतिज्ञा अधिकारीको पल्ला भारी रहेको अनुमान गरिएको छ। त्यस्तै सैनिक सेवाबाट निवृत्त गुरुङ वर्तमान संयोजक रहेका कारण चर्चामा छन्।