|  

नेप्से १५ अंकले घट्दा यस्तो रहयो कारोबार !

१४ साउन, काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्ला दिनहरुमा लगातार उच्च अंकले बढेर ३१ सय अंकसम्म पुगेको नेप्से साताको अन्तिम कारोबार दिन आज भने घटेको छ ।

नेप्से आज १५ दशमलव ११ अंकले घटेर तीन हजार ७९ दशमलव ८३ अंकमा झरेकोमा सेन्सिटिभ पनि तीन दशमलव ४७ अंकले घटेर पाँच सय ७० दशमलव ८५ अंकमा पुगेको छ ।

दुई सय १७ वटा कम्पनीहरुको एक लाख ६ हजार ६ सय ८२ पटकको कारोबारमा दुई करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा होटल तथा पर्यटन र विकास बैंक समूहको सूचकहरु क्रमश ४५ दशमलव ४१ र ५३ दशमलव चार अंकले बढेका छन् भने बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।

ति मध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ४४ अंकले घटेर दुई हजार ९९ दशमलव ५८ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक पनि ६९ दशमलव ५७ अंकले घटेर १४ हजार नौ सय ९४ दशमलव एक अंकमा झरेको छ ।

जीवन बीमा समूहको सूचक पनि ८६ दशमलव ५५ अंकले घटेर १८ हजार दुई सय ७२ दशमलव ९२ अंकमा झरेकोमा जलविद्युत, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

आज रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९५ प्रतिशतले बढेर सात सय २९ रुपैयाँमा कारोबार हुंदा गुडविल फाईनान्सको प्रतिकित्ता सेयर मूल्य सात दशमलव २१ प्रतिशतले घटेर सात सय ९८ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचिमा पनि गुडविल फाईनान्स नै पहिलो स्थानमा परेको छ ।

उक्त फाईनान्सको प्रतिकित्ता सात सय ९८ रुपैयाँ अन्तिम मूल्यमा ३३ करोड २७ लाख ९५ हजार चार सय ९३ रुपैयाँ ७० पैसाको सेयर किनबेच भएको छ ।