|  

विद्यालय खुला गर्न सीसीएमसीमा यस्तो भयो छलफल !

१४ साउन, काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार भएको बैठकमा विद्यार्थी संख्या थोरै भएका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।

यस्ता विद्यालय खोल्न छलफल भए पनि त्यसको आधिकारिक निर्णय नभएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।
उनका अनुसार बैठकमा अधिकांश विद्यालयहरूमा एक सय जनाभन्दा कम विद्यार्थी रहेकाले ठाउँ विषेशका आधारमा विद्यालय खोल्ने कि भन्ने विषयमा छलफल चलेको थियो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले आफूले बैठकमा १२ वर्ष उमेरभन्दा माथिका सबै विद्यार्थी र शिक्षक कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने सुझाब दिएको बताए । कोरोना जोखिमको अवस्था हेरेर ठाउँ विषेशका आधारमा कम विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सरकारले जारी गरेको वैकल्पिक माध्यमबाट नसमेटिएका विद्यार्थीलाई पढाइबाट बञ्चित गर्न नहुने उनको भनाइ छ ।

एक पक्षले परीक्षा सञ्चालन गर्नुपर्छ भन्दै दबाब दिने र अर्काे पक्षले परीक्षा सञ्चालन गर्दा कोरोना संक्रमण बढ्ने भएकाले गर्नु हुँदैन भनेकाले यसलाई सही निकास दिन जरुरी रहेको सीसीएमसीका संयोजक बालानन्द शर्माको भनाइ थियो ।

खबरहबसँग कुरा गर्दै भण्डरीले विद्यार्थीको संख्या कम भएका विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने कुरामा सबै सहमत रहेको बताए ।

विद्यार्थी संख्या कम भएका विद्यालय सञ्चालन गर्ने हकमा सोच्न सकिने बैठकमा सहभागी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गाना लगायत शैक्षिक सरोकारवाला व्यक्तिहरूको सहभागिता थियो ।