|  

हामी सँगै छौं तर बिहे भएको छैन : अनु शाह

१५ साउन, काठमाडौँ । अभिनेत्री अनु शाह अचेल अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ । 

निषेधाज्ञामा सविनले अनुसँग बनाएको भ्लगलाई दर्शकले निकै रुचाएका थिए । ‘आधी बाटो’ र ‘लक्ष्य’ फिल्ममा एकसाथ काम गरेका उनीहरु एकअर्काको परिवारसँग पनि घुलमिल भइसकेका छन् ।
 
२०७४ सालमा यो जोडीले काठमाडौं जिल्ला अदालतमा विवाह गरेको खबर सार्वजनिक भएको थियो । तर, उनीहरुले यसलाई अफवाह बताए । 

निषेधाज्ञाको समयमा अनुले आफ्नो सिउँदोमा सिन्दूर लगाएर टिकटक बनाएपछि उनले गुपचुप रुपमा सविनसँँग विवाह गरेको फेरि चर्चा चल्यो । तर, हालै एक यूट्युब अन्तर्वार्तामा उनले आफूहरु सँगै भए पनि बिहे नभएको स्पष्ट पारेकी छन् ।
 
अनु भन्छिन्, ‘हामी केही वर्षदेखि सँगै नै छौं तर विवाह भएको छैन । हाम्रो इन्गेजमेन्ट पनि भएको छैन । हामी कहिल्यै नछुटिउँ भनेर उहाँ (सविन श्रेष्ठ) ले ‘प्रमिस रिङ’ लगाइदिनुभएको छ ।’ आफूहरु तत्काल विवाहको योजनामा नभएको पनि उनले सुनाइन् । आफ्नो गर्धनमा सविनको नामको ट्याटु समेत खोपाएकी उनले आफूहरुबीच २०६८ सालमा चिनजान भएको बताएकी छन् । 
 
सविनसँगको पहिलो भेटबारे उनी भन्छिन्, ‘मैले उहाँलाई २०६८ सालमा चिनेको हो । एक होलीको फोटोेसुटको क्रममा हामीबीच चिनजान भएको थियो । हामी सँगै भएको चाहिँ चार वर्ष जति भयो ।’ उनी सविनको सहयोगी भावना आफूलाई मनपर्ने बताउँछिन् । पब्लिक फिगर भएपछि मिडियामा प्रेमको चर्चा चल्नु सामान्य रहेको र यसले सविन र आफूलाई फरक नपार्ने उनको भनाई छ ।