|  

सरस्वती पहिलो चरणबाटै बाहिरिइन्

१५ साउन, काठमाडौँ । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन्।
आज बिहान महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन्।

सरस्वतीले हिट २ मा कुद्दै निर्धारित दुरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌। आफ्नो हिटमा रहेका ९ मध्य आठौं स्थानमा उनी रहिन् । सरस्वतीको सहभागिता हिट चरणमा नै सिमित रह्यो । उनले यस स्पर्धामा राखेको व्यक्तिगत उत्कृष्ट समय पनि सुधार गर्न सकिनन् ।

यसअघि २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा १२.७२ सेकेन्ड र त्यसपछि १३ अ‍ौं सागमा उनले १२.५५ सेकेन्डको समय निकालेकी थिइन् । नेपालको राष्ट्रिय कीर्तिमान भने देवीमाया पनेरुको नाममा छ । उनले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा १२.२० सेकेन्डको समय निकालेकी थिइन् ।