|  

जुकरबर्गको अभिव्यक्तिले अमेरिकी बजारमा शेयर मूल्य ५ प्रतिशतले गिरावट 

१५ साउन, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले सन २०२१ को दोस्रो त्रैमासिकमा २९ अर्ब अमेरिकी डलर कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा धेरै नै वृद्धि हो ।

कम्पनीले गत वर्षको दोस्रो त्रैमासमा १८।६९ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । यो त्रैमासिकमा ठुलो आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२१ को दोस्रो अर्धवार्षिकमा भने ठूलो मात्रामा घट्ने अनुमान गरिएको छ ।

कोरोनाका कारण बढ्दो अनलाइन विज्ञापनले गर्दा दोस्रो त्रैमासिकमा कम्पनीले २९ अर्ब डलरको आँकडा छुन सफल भएको हो । तर, आगामी दिनमा भने यही वृद्धिदर कायम राख्न मुस्किल हुने कम्पनीले जनाएको छ ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले व्यवसाय विस्तार र प्रयोगकर्तालाई एकअर्कासँग कनेक्ट गराउन सफल भएको प्रतिक्रिया दिएका छन् । उनले फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता २ अर्ब ९० करोड पुगेको भन्दै यो उपलब्धि कायम राख्न आगामी दिनमा पनि प्रयास रहने बताए ।

सीईओ जुकरबर्गले कम्पनीको आगामी दुई त्रैमासिकको आम्दानीको विषयलाई लिएर यस्तो अभिव्यक्ति दिएसँगै अमेरिकी बजारमा कम्पनीको शेयर मूल्य पनि घटेको उल्लेख गरिएको छ । एकदिनमै कम्पनीको शेयर मूल्य ५ प्रतिशतले घटेको छ ।