|  

काङ्ग्रेसमा क्रियाशील छानबिनको भाँडभैलो, विवाद मिलाउन जुटे शीर्ष नेता

१५ साउन, काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन् । 

काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो ।

काङ्ग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीबार बैठकमा परिमार्जनसहितको प्रतिवेदन बुझाए पनि क्रियाशील सदस्यतामा केही विवाद थाती नै छन् । 

विवाद समाधानका लागि आज बिहानदेखि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता छलफलमा जुट्नुभएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  

नेतृत्व तहले बाँकी विवाद समाधान गरी पार्टीको केन्द्रीय निर्वाचन समितिलाई प्रतिवेदन उपलब्ध गराउने र प्रभावित भएका अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।