|  

भारत सरकारको सहयोगमा हिरण्यवर्ण महाविहारको पुनर्निर्माण सुरु

१५ साउन, काठमाडौं। भारत सरकारको सहयोगमा ललितपुरको हिरण्यवर्ण महाविहार पुनर्निर्माण सुरु भएको छ।  

पुनर्निर्माण कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रीतिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगि छेँमा क्षमापूजा गरेका छन्।

क्षमापूजामा काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ तथा नेपाल सरकारका अधिकारीहरू सहभागी भएका थिए। उक्त महाविहार १८.१ करोडमा पुनर्निर्माण हुन लागेको हो।

पाटनका बौद्ध मन्दिर विहारहरूमध्ये सबैभन्दा महत्वपूर्ण विहारका रुपमा रहेको यो मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित रहेका छ ।

भूकम्पले क्षति पुर्‍याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजनाभित्रकै एक हो।